फिट रहनका लागि मानिस शारीरिक रूपमा सक्रिय भइरहनुपर्छ । शारीरिक गतिविधिको कमी र अल्छीपनका कारण अहिले धेरै मानिस मोटोपनको सिकार भइरहेका छन् । यसले अन्य स्वास्थ्य समस्या पनि बढाउने हुनाले हामीले फिटनेसका लागि समय छुट्याउनुपर्छ ।
म फिटनेसका धेरै विधामध्ये नृत्यलाई सिफारिस गर्छु । मेरो बुझाइमा स्वस्थ र फिट रहनका लागि यो सबैभन्दा राम्रो उपाय हो । यो प्रभावकारी मात्रै होइन, धेरै रमाइलो पनि छ । यसले मानिसलाई धेरै खुसी राख्छ । त्यस्तै, मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ ।
हिपहप, जुम्बा, क्लासिकल इन्डियन, स्ट्रिट डान्सलगायत डान्सका सबै फम्र्याट अति रमाइला छन् । कम्प्रिङ, लकिङ जम्पिङ ज्याकलगायत विभिन्न मुभले तपाईंको शरीरको लचकता बढाउँछ ।
जुनसुकै मुभमा डान्स गरे पनि मनैदेखि गर्न जरुरी छ । डान्सको फिटनेस रुटिन फलो गर्न पनि धेरै सहज छ । संगीतको तालमा यसरी नाच्दा शरीरलाई कसरत परेको पत्तो नै हुँदैन ।
नृत्यले सम्पूर्ण शरीरलाई चलायमान बनाउँछ । तपाईंलाई आराम दिन्छ र शान्ति तथा खुसीसँगै मानसिक रूपमा स्पष्ट बनाउँछ ।