एमसिसीको एक वर्ष : परियोजनाको पूर्वतयारी नै सुस्त

परियोजना निर्माणमा लैजान जग्गा प्राप्ति अनिवार्य, तर जग्गा प्राप्तिमै ढिलाइ

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा जाने मिति नजिकिँदै गर्दा पूर्वतयारीको काम भने सुस्त देखिएको छ । एमसिसीको तालिकाअनुसार आगामी अगस्ट ०२३ देखि सुरु भएर अगस्ट ०२८ भित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ ।  

अमेरिकी सरकारअन्तर्गको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)ले नेपाललाई उपलब्ध गराउने अनुदानसम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भएको १५ फागुनमा एक वर्ष पुगेको छ । एमसिसीको ५० करोड डलर अनुदानबाट चार प्रसारण लाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ९९ किमि सडकखण्ड मर्मत गर्ने गरी सेप्टेम्बर २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो । जुन सम्झौता १५ फागुन ०७८ (२७ फेब्रुअरी २०२२) मा संसद्बाट अनुमोदन भएसँगै कार्यान्वयनको पनि ढोका खुलेको हो । तर, यो एक वर्षको बीचमा आवश्यकताअनुरूप पूर्वतयारीको काम नभएको देखिन्छ ।  

परियोजना निर्माणमा जानुभन्दा पहिला नै जग्गा प्राप्तिको काम अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । त्यसमा सबस्टेसनको जग्गा प्राप्ति भइसकेको छ । तर, मुख्य आयोजनाका रूपमा हेरिएको प्रसारण लाइनलाई चाहिने जग्गाको प्राप्ति अझै भएको छैन । एमसिए नेपालले गत माघबाट मात्रै जग्गा प्राप्तिको प्रारम्भिक प्रक्रिया अघि बढाएको छ, तर अगस्टभित्र नै जग्गा प्राप्तिको प्रक्रिया नटुंगिने देखिएको छ । 

एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) खड्गबहादुर विष्ट पनि पूर्वतयारीको काममा केही ढिलाइ भएको स्विकार्छन् । ‘परियोजना निर्माणको पूर्वतयारीको काममा हामी केही ढिलाइ भएको महसुस गरेका छौँ । सोचेजस्तो द्रुत गतिमा जग्गा प्राप्तिलगायत तयारीको काम अघि बढ्न सकेको छैन,’ उनले भने ।

 १० जिल्लामा जग्गा प्राप्ति गर्नुपर्ने, तीन जिल्लामा मात्रै सुरु
एमसिसीअन्तर्गत बन्ने चार प्रसारण लाइनका लागि १० जिल्लामा जग्गा प्राप्ति गर्नुपर्नेछ । त्यसमा गत माघमा मात्रै चितवन, नवलपरासी र नवलपुरको जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । त्यसबाहेक काभ्रेपलाञ्चोक, काठमाडौं, धादिङ, मकवानपुर, पाल्पा, रुपन्देही, तनहुँमा पर्ने जग्गाको प्राप्तिको प्रक्रिया अझै सुरु गरिएको छैन । 

एमसिसीअन्तर्गत चार सय केभी डबल सर्किट क्षमताका तीन सय १५ किलोमिटर लम्बाइका चार प्रसारण लाइन बनाइनेछ, जहाँ आठ सय ५६ वटा टावर हुनेछन् । त्यसमा लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा (११७ किमि), रातमाटे–न्यु दमौली (९० किमि), न्यु दमौली–न्यु बुटवल (९० किमि) प्रसारण लाइन बन्नेछन् । साथै, नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइन (न्यु बुटवल–गोरखपुर)अन्तर्गतको नेपाल खण्ड (१८ किमि) पनि एमसिसीअन्तर्गत बन्नेछ । यी प्रसारण लाइनहरू बनाउन कुल १९८ मिलियन डलर खर्च लाग्ने अनुमान रहेको छ ।

 सबस्टेसन र सडक मर्मतको टेन्डर आह्वान हुनै बाँकी 
एमसिसीअन्तर्गत बन्ने तीन सबस्टेसन र ९९ किलोमिटर सडक मर्मतको टेन्डर पनि आह्वान हुन बाँकी छ । एमसिसीअन्तर्गत बन्ने चार प्रसारण लाइन बनाउन २७ मार्च २०२३ सम्मको म्याद राखेर गत २८ नोभेम्बरमा ग्लोबल टेन्डर आह्वान भएको थियो । तर, एमसिसीअन्तर्गत रातमाटे, बुटवल र दमौलीमा चार सय केभी क्षमतामा बन्ने एक–एकवटा सबस्टेसनका लागि अझै टेन्डर आह्वान भएको छैन । त्यसको निर्माणका लागि गत जनवरीमै  टेन्डर आह्वान गर्ने भनिएको थियो । तर, तयारी नपुगेको भन्दै एमसिए नेपालले अझै पनि टेन्डर आह्वान गरेको छैन ।

टेन्डर आह्वानदेखि निर्माण कम्पनी छनोट गर्दासम्म न्यूनतम ५–६ महिना समय लाग्छ । यी तीन सबस्टेसन बनाउन ११४ मिलियन डलर खर्च हुने एमसिए नेपालको अनुमान छ । सबस्टेसनतर्फको जग्गा प्राप्ति भने सम्पन्न भइसकेको छ । 
यस्तै, सडक मर्मतको टेन्डर आह्वान गर्न पनि बाँकी नै रहेको छ । यसअन्तर्गत पूर्व–पश्चिम राजमार्ग दाङ खण्डमा ९९ किमि सडकखण्ड मर्मत गर्ने परियोजना छन् । सडक मर्मतमा ४४ मिलियन डलर खर्च हुने अनुमान छ ।   

 रूख कटानीको काम पनि बाँकी 
एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइनलाई चाहिने जग्गामा ५० प्रतिशत सरकारी जंगली भूभाग नै छ । यसका लागि परामर्शद्वारा रूख गणना गरेर सरकारबाट रूख कटानीको स्वीकृति लिनुपर्छ । तर, अझै पनि रूख गणनाका लागि परामर्शदाता कम्पनी छनोट भएको छैन । 

See More On

सुझावित समाचार