क्रेनमा युरोपेली र उत्तर अमेरिकी देशहरूबाट अर्बाैं डलरका हातहतियार भित्रिएका छन्– राइफल, गोलीगठ्ठा, मिसाइल, तोप आदि । सुरुमा ती देशले यी हतियार ‘आत्मरक्षा’का लागि भएको कुरामा जोड दिएका थिए । बिनाउक्साहट सीमापारिबाट ओइरिएका रुसी सेनाको आक्रमणविरुद्ध युक्रेनलाई लड्न सहयोग गर्ने उद्देश्यले हतियार पठाइएको उनीहरूको कथन थियो ।
त्यसको एक वर्षपछि रुसी सेनाले नयाँ आक्रमणको तयारी गरिरहेको समयमा युक्रेनलाई पठाउने हतियारको प्रकारमा नाटकीय परिवर्तन भएको छ । अहिले युक्रेनका सहयोगी देशबाट बख्तरबन्द सैन्य वाहन, लामो दूरीका रकेट र उन्नत ट्यांकहरू आइरहेका छन् ।
हतियारलाई आक्रमक वा रक्षात्मकमा वर्गीकृत गर्नु सहज छैन । तर, अब विश्वका केही उत्कृष्ट हतियारको प्रयोगबाट युक्रेनले आक्रामक बन्दै रसियालाई आफ्नो देशबाट बाहिर खेद्ने क्षमता राख्नेछ । यसको अर्थ सबै पक्षका निमित्त जोखिम निकै बढेको छ ।
कुरा एकदमै स्पष्ट छ । गत शरदमा आफ्नो देशको दक्षिणी र उत्तरपूर्वी भागको विशाल क्षेत्रलाई सफलतापूर्वक मुक्त गरेको युक्रेनी सेनाले यो वर्ष नयाँ प्रत्याक्रमण योजना बनाइरहेको छ । युक्रेनका सहयोगी राष्ट्रहरू त्यस प्रत्याशित प्रत्याक्रमणको सफलता सुनिश्चित गर्न आफ्ना शस्त्रागार खंगालिरहेका छन् र आफ्ना उत्कृष्ट र शक्तिशाली हतियार युक्रेन पठाइरहेका छन् । गतवर्षको फेब्रुअरीमा जब रुसी सेना उत्तरी युक्रेनमा प्रवेश गर्दै पूर्वी युक्रेनको डोनवास क्षेत्रबाट समेत भित्र घुसिरहेको थियो, अमेरिका र उसका अन्य सहयोगीले युक्रेनलाई गोलाबारुद, काँधमा राखेर प्रहार गर्न सकिने छरिता एन्टी–ट्यांक मिसाइल, हवाई सुरक्षा प्रणाली र सबैभन्दा महत्वपूर्ण पश्चिमी देशका गोलीगठ्ठा अनुकूलका आर्टिलरी (तोप)हरूलाई प्राथमिकता दिएका थिए ।
अन्य हतियारले भन्दा यी आर्टिलरीले युक्रेनी सेनालाई आफ्नो राजधानी किभको रक्षा गर्न र अन्ततः पूर्वी र दक्षिणी भेगमा रुसी सेनाको प्रगति रोक्न मद्दत गर्यो । अझ उनीहरूले पछाडि नै खेद्न सके । अहिलेसम्म युक्रेनले ७५० भन्दा धेरै आर्टिलरी र भेहिकल–माउन्टेड रकेट लन्चर प्राप्त गरिसकेको छ । थप सयभन्दा धेरै आउने क्रममा छन् ।
‘सार्वजनिक वृत्तमा एन्टी–ट्यांक गाइडेड हतियायारहरूबारे बढी चर्चा भए पनि वास्तवमा रुसको किभ कब्जा गर्ने प्रयासलाई युक्रेनले दुई आर्टिलरी ब्रिगेडबाट भारी गोलाबारी गरेर असफल तुल्याएको थियो,’ नोभेम्बरको रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट इन लन्डनमा मिखाइलो जाब्रोदस्की, ज्याक वाटलिङ, अलेक्स्यान्डर भी डान्यलुक र निक रेनोल्डले लेखेका छन् ।
किभजस्ता ठाउँमा रुसी आक्रमण धेरै हदसम्म रोकिएपछि अझ स्थिति उल्टिँदै जाँदा युक्रेनलाई दिइने हतियारमा रक्षात्मकभन्दा पनि प्रत्याक्रमणका हतियार समवेश गरिन सुरु भयो । गत वसन्त ऋतुमा पोल्यान्डले युक्रेनलाई २०० भन्दा धेरै पुराना ट्यांक दियो । तीमध्ये केही सोभियतकालीन टी–७२ ट्यांक थिए भने अरू यसैका स्थानीय संस्करण थिए ।यी ट्यांक विदेशी राष्ट्रहरू प्रत्याक्रमणका हतियारतर्फ अग्रसर भएको पहिलो प्रमाण थिए ।
युद्ध क्षेत्रमा युक्रेनका सहयोगीले पठाइरहेका यी हतियारको सन्देश स्पष्ट छ– यी प्रतिरक्षाका लागि भन्दा पनि प्रत्याक्रमणका लागि हुन्
अमेरिका र अन्य सहयोगी देशहरूले बख्तरबन्द सैन्य वाहनहरू पठाउन थालेपछि गत ग्रीष्म ऋतुबाट त्यो क्रम थप तीव्र भयो । युद्धभूमिमा सेना ओसार्ने तीव्र गतिका र हतियारजडित यी सैन्य वाहनले आक्रमणमा नेतृत्वदायी भूमिका खेल्ने ट्यांकहरूलाई महत्वपूर्ण सहयोग गर्छन् । अमेरिका, नेदरल्यान्ड, स्पेन, लिथुआनिया, जर्मनी, अस्ट्रेलिया र अन्य देशले पनि यस्ता १४ सयभन्दा धेरै वाहन उपलब्ध गराइसकेका छन्, जसमध्ये धेरैजसो अमेरिकी डिजाइनका एम–११३एस छन् ।
यी बख्तरबन्द सैन्य वाहनहरू गर्मीको अन्त्यताका क्रमशः उत्तरपूर्व र दक्षिणका खार्किभ र खेरसन ओब्लास्टमा सुरु भएको प्रत्याक्रमणमा सहभागी हुन समयमै आइपुगे । यी वाहनको सहयोगमा रुसी सैन्य लाइनका खाली ठाउँहरूको फाइदा उठाउँदै युक्रेनी ब्रिगेडहरू रुसी कब्जामा रहेका क्षेत्रको भित्रसम्म घुसे । रुसी आपूर्ति रेखा तोड्दै दसाैँ हजार रुसी सेनालाई पछि हट्न बाध्य पारे ।
यो प्रत्याक्रमणले युक्रेनको हजाराैँ वर्गमाइल भूभागलाई रुसी कब्जाबाट मुक्त गर्यो । साथै, सन् २०२३ को सम्भावित प्रतिवादका लागि मञ्च पनि तयार गरिदियो । युक्रेनले वसन्त ऋतुका लागि ठूलो आक्रमणको योजना बनाइरहेको युक्रेनको सैन्य गुप्तचरी निकायका प्रमुख खाइरिलो बुदानोभले गत महिना एबिसी न्युजसँगको कुराकानीमा बताए । उनका अनुसार यो आक्रमणको उद्देश्य रुसी नियन्त्रणमा रहेका ‘क्रिमियादेखि डोनबाससम्म’का भूभागलाई मुक्त गर्नु हो । यसैबीच, रुसी सेनाले युक्रेनी आक्रमणलाई निस्तेज बनाउन र अहिलेसम्म भएका प्रगतिलाई थप मजबुत बनाउन आक्रमणलाई थप सशक्त बनाउने संकेत दिइसकेको छ ।
युक्रेनका सहयोगीहरूले हतियार सहयोगमा जारी राखेको बदलावले आगामी दिनमा कडा भिडन्तको सम्भावना देखाउँछ । ‘नयाँ हतियारहरू भित्रिँदै जाँदा र सैनिकहरू तिनको प्रयोगमा निपुण हुँदै जाँदा युक्रेनीहरू युद्धमा प्रगति गर्न र युद्धभूमिको गतिशीलतालाई परिवर्तन गर्न सक्षम हुने अपेक्षा गरेका छौँ,’ रुस, युक्रेन तथा युरेसियाका लागि अमेरिकी उपसहायक रक्षामन्त्री लौरा कुपरले गत महिना पत्रकारहरूसँग भनेकी थिइन्, ‘हामी त्यसैमा केन्द्रित छौँ ।’
यस तात्कालिक अपरिहार्यताले अमेरिका र युक्रेनका अन्य सहयोगीलाई तिनका अतिरिक्त सैन्य लडाकु वाहन पठाउन उत्प्रेरित गरेको देखिन्छ । यी वाहन पनि बख्तरबन्द सैन्य वाहनजस्तै छन् तर यी एन्टी–ट्यांक मिसाइलका साथै स्वचालित तोपजस्ता आक्रामक हतियारहरूले लेस छन् ।
गह्रौँ हतियारले लेस र उच्च गतियुक्त यी इन्फ्यान्ट्री फाइटिङ भेहिकल (पैदल सेनासहितका लडाकु वाहन) विशेषगरी आक्रमक अभियानका लागि उपयोगी छन् । युक्रेनलाई अमेरिका र जर्मनीले क्रमशः एम–२ र मार्डर लडाकु वाहन दिइरहेका छन् । पेन्टागनले युक्रेनलाई प्रारम्भिक चरणमा १०९ एम–२ एस दिने घोषणा गरेको केही समयपछि जनवरी २० मा अमेरिकाको ज्वान्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लेले पत्रकारहरूसँग भने, ‘यो हतियार सहयोगले रुसी कब्जामा रहेका युक्रेनी भूभागलाई मुक्त बनाउन आवश्यक प्रत्याक्रमणको क्षमता प्रदान गर्नेछ ।’
तर एम–२ र यस प्रकारका वाहन त सुरुवात मात्र थिए । लगत्तै उनीहरूले त्यसभन्दा राम्रा वाहन धेरै संख्यामा पठाएका छन् । बेलायतले आफ्ना १४ थान सर्वश्रेष्ठ च्यालेन्जर २ ट्यांक दिने प्रतिज्ञा गरेको छ । अमेरिकाले ३१ थान अत्याधुनिक एम–१एम२ ट्यांक दिने भएको छ । ढिलै भए पनि पोल्यान्डसँग रहेका जर्मनीमा निर्मित लियोपार्ड २ ट्यांक युक्रेनलाई उपलब्ध गराउन जर्मनीले अनुमति दिएको छ । यसबाट उसले अन्य युरोपेली देशलाई यसै गर्न सक्ने सन्देश पनि दिएको छ । यसबाहेक, जर्मनीले आफ्ना एक दर्जन अत्याधुनिक ट्यांक युक्रेनलाई दिएको छ ।
तीव्र गतिका सटिक र घातक प्रहार गर्ने यी ट्यांक स्वाभाविक रूपले नै आक्रामक छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले ट्विट गरेका छन्, ‘अत्याधुनिक हतियार, दूरबिन र अग्निनियन्त्रण प्रणालीले लेस नाटो शैलीका ट्यांकहरूको उपलब्धताले विजयतर्फको एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्छ ।’ युद्धक्षेत्रमा युक्रेनका सहयोगीले पठाइरहेका यी हतियारको सन्देश स्पष्ट छ– यो प्रतिरक्षाका लागि भन्दा पनि प्रत्याक्रमणका लागि हुन् । र, यसले युद्धभूमिमा महत्वपूर्ण परिवर्तनको पनि सन्देश दिन्छ ।
(फोब्र्सका स्टाफ राइटर एक्स ननफिक्सन लेखक, ग्राफिक उपन्यासकार एवं फिल्म निर्माता हुन्) न्यूयोर्क टाईम्सबाट