देशभरका ५९ ग्यास उद्योगले एक करोड ५० लाख थान सिलिन्डर बजार पठाएका छन् । यस्ता अति प्रज्वलनशील ग्यास सिलिन्डरको गुणस्तरबारे उचित नियमन नहुँदा र उपभोक्ताले सही ढंगले प्रयोग नगर्दा बारम्बार साना–ठूला दुर्घटना दोहोरिने गरेका छन् ।
ग्यास सिलिन्डरको सुरक्षाबारे नियमन गर्ने गुणस्तर तथा नापतौल विभागले वर्षमा एकपटक उद्योग पुगेर सिलिन्डरको परीक्षण गर्ने जिकिर गर्दै आएको छ । तर, बजारमा सुरक्षित सिलिन्डर मात्रै पुगेका छन् भन्ने विषयमा विभाग आफैँ आश्वस्त छैन । विभागकी प्रवक्ता ज्योति जोशी भट्टले नियमित रूपमा ग्यास उद्योगको अनुगमन–निरीक्षण गर्ने र प्राविधिक रूपमा सुरक्षित सिलिन्डर मात्रै बजारमा पठाउने गरेको बताइन् । तर, ग्यास उद्योगलाई अनिवार्य गरिएको गुणस्तर प्रमाणपत्र चिह्न (एनएस) भने सबै कम्पनीले नलिएको उनले स्वीकार गरिन् । ‘अहिलेसम्म ४९ उद्योगले एनएस लिएका छन्,’ उनले भनिन् । एनएस चिह्नले उद्योगको सम्पूर्ण सुरक्षा र व्यवस्थापनको अवस्था मापदण्डअनुसार भए–नभएको निक्र्योल हुने गर्छ । तर, केही उद्योगले एनएस नै नलिएकोबारे विभागले कडाइसमेत गरेको छैन ।
बजारमा एउटै ब्रान्डको पाँच लाखभन्दा बढी ग्यास सिलिन्डर छन् । पूर्वी क्षेत्रमा रहेको कोसी ग्यासको पाँच लाख ८२ हजार, काठमाडौंमा मुख्य बजार रहेको नेपाल ग्यासको पाँच लाख ८२ हजार पाँच सय १९ र मधेस प्रदेशमा बजारीकरण गरिरहेको जानकी ग्यासको चार लाख चार हजार सिलिन्डर बजारमा छन् । ठूला ग्यास उद्योगहरू नेपाल, कोसी, एचपी, गौरीशंकर, एभरेस्ट, सुगम, मनकामना, जानकी, सगरलगायतले एनएस चिह्न लिए पनि केही साना उद्योग यसको दायराबाहिर छन् ।
धेरै सिलिन्डर बजार पठाइरहेका ठूला उद्योगी उपभोक्ताप्रति बढी उत्तरदायी हुनुपर्ने अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘गुणस्तर विभाग, वाणिज्य विभाग, आयल निगम र सम्बन्धित ग्यास उद्योगको सहकार्यमा सुरक्षित ग्यास सिलिन्डर बजार पठाउन सहकार्य हुनुपर्छ,’ उनले भने । बजारमा भएका सिलिन्डरको प्राविधिक पक्ष ठीक भएकोबारे उपभोक्तालाई आश्वस्त पार्न सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए ।
एलपी ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले बजारमा अहिले डेढ करोड थान सिलिन्डर रहेको भए पनि एक करोड १६ लाख थान सिलिन्डरको मात्र तथ्यांक संकलन भएको बताए । हाल दैनिक एक लाख सिलिन्डर खपत भइरहेको उनको भनाइ छ । ‘हरेक दिन बजारमा ग्यास भरिएको एक लाख थान सिलिन्डर पठाइरहेका छौँ । यी सबै सिलिन्डर सुरक्षित छन्,’ उनले भने ।
सिलिन्डर विस्फोटमा पर्नेलाई एक करोडसम्मको क्षतिपूर्ति
ग्यास सिलिन्डरबाट हुने दुर्घटना बढ्न थालेपछि एलपी ग्यास उद्योग संघले जोखिम न्यूनीकरण गर्न सात वर्षअघिबाट एक करोडसम्मको बिमा कार्यक्रम लागू गरेको छ । संघका अनुसार ग्यास सिलिन्डर दुर्घटनाबाट क्षति भएपछि सरकारी तवरबाट गठित छानबिन समितिले दिएको रिपोर्टका आधारमा क्षतिपूर्ति निर्धारण हुने गरेको छ ।
संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार छानबिन समितिले सिलिन्डरमा भएको समस्याका कारण दुर्घटना भएको ठहर गरेमा मात्रै क्षतिपूर्ति भर्पाई दिने व्यवस्था छ । सात वर्षअघि घिमिरेकै पहलमा ग्यास दुर्घटना न्यूनीकरणका लागि एक करोड रुपैयाँसम्मको बिमा कार्यक्रम लागू भएको थियो ।
सुरक्षित सिलिन्डर मात्रै बजारमा पठाउने गरिएको छ
ज्योति जोशी भट्ट, प्रवक्ता, गुणस्तर तथा नापतौल विभाग
नियमित रूपमा ग्यास उद्योगको अनुगमन–निरीक्षण गर्ने र प्राविधिक रूपमा सुरक्षित सिलिन्डर मात्रै बजारमा पठाउने गरिएको छ । अहिलेसम्म ४९ उद्योगले एनएस लिएका छन् । एनएस चिह्नले उद्योगको सम्पूर्ण सुरक्षा र व्यवस्थापनको अवस्था मापदण्डअनुसार भए–नभएको निक्र्योल हुने गर्छ ।
बजारमा पठाउने सिलिन्डरमा सम्झौता हुँदैन
कृष्णभक्त श्रेष्ठ, महासचिव, एलपी ग्यास उद्योग संघ
अहिलेको समयमा उपलब्ध नवीन प्रविधि जडान गरेर सबैजसो ग्यास उद्योग सञ्चालनमा छन् । सिलिन्डर बजार पठाउँदा पनि प्राविधिक पक्ष पूर्ण रूपले ठीक भएको यकिन गरिन्छ । हाइड्रोस्टेटिक टेस्ट पास भएका सिलिन्डरमा मात्र नयाँ मिति राखेर पठाइन्छ । नितान्त प्राविधिक परीक्षणबाट पास भएको सिलिन्डर मात्रै बजार पठाइन्छ । बजारमा पठाउने सिलिन्डरमा सम्झौता हुँदैन ।