जीवन व्यवस्थित बनाउने पाँच सूत्र

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

सन् १९८४ मा प्रकाशित विश्वप्रसिद्ध पुस्तक ‘यु वेर बर्न रिच’का लेखक बब प्रोक्टर सन् २००६ मा रिलिज भएको फिल्म ‘द सेक्रेट’का कन्ट्रिब्युटरसमेत हुन् । ३ फेब्रुअरी २०२२ मा ८७ वर्षको उमेरमा यी क्यानेडेली लेखक तथा मोटिभेसनल स्पिकरको निधन भयो । सफलता हासिल गर्नमा मानिसले आफूलाई सकारात्मक सोच्ने कार्यले महत्वपूर्ण भूमिका खेल्छ भन्ने उनको मान्यता रह्यो । उनले जीवनभर ‘आकर्षणको नियम’को पैरबी गरेका थिए । जीवनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ? यस विषयमा स्वर्गीय प्रोक्टरले दिएका अभिव्यक्तिको सारांश :

 हामी जे सोच्छौँ, त्यही बन्छौँ 
हामी मानवसँग भएको सबैभन्दा ठूलो स्रोत नै मस्तिष्क हो । तपाईंलाई हाम्रो मस्तिष्कको मुख्य काम हामीले चाहेअनुसार चल्नु हो भन्ने लाग्ला । केही हदसम्म यो साँचो हो, तर सधैँ होइन । किनकि, कहिलेकाहीँ दिमागले हामीविरुद्ध नै काम गर्छ । निकै कडा मिहिनेत गरेको खेलाडी पनि प्रतियोगिताअघि असफल भइन्छ कि भन्ने त्रासबाट गुज्रन सक्छ । उनको दिमागमा नकारात्मक विचार आउन सक्छ र त्यस्तो हुँदा उसको आत्मविश्वास घट्न थाल्छ । त्यसका लागि उसले आफ्नो दिमागबाट नकारात्मक सोच हटाउने प्रयास गर्नुपर्छ । सकारात्मक सोचले हामीलाई सकारात्मक बनाउँछ । 

 बाहिरी दुनियाँको नियन्त्रणबाट निस्कनुस् 
हाम्रो भित्री दुनियाँ, हाम्रा भावना र सोचमा बाहिरी दुनियाँको ठूलो प्रभाव रहन्छ । जब हामी सानो हुन्छौँ, त्यतिवेला आफ्ना बाबुआमालाई सबैभन्दा ठूला देख्छौँ । किशोरावस्थामा हामी आफूलाई मन पर्ने साथीहरूसँग नजिक हुन र आफ्ना अप्ठ्याराहरू सुनाउन चाहन्छौँ । हुर्कंदै गएपछि हामी आफ्नो जीवनसाथीसँग रमाउँछौँ । यसरी हाम्रा भावनात्मक सम्बन्धहरू बन्दै जान्छन् । तर, भावनामा धेरै बग्दा हामीलाई समस्या पर्न सक्छ र हामी बाहिरी दुनियाँको प्रभावमा पर्छौं । हामीले आफूलाई बाहिरी दुनियाँको प्रभावबाट बाहिर ल्याउन जरुरी छ । आफ्ना भावनालाई अरूको प्रभाव वा दबाबविना नै कसरी स्वस्थ रूपमा अभिव्यक्त गर्ने भनेर सिक्न जरुरी छ । 

 के गर्दै हुुनुहुन्छ, ध्यान दिनुस् 
तपाईं जीवनमा के हासिल गर्न चाहनुहुन्छ ? पहिले यसबारे पत्ता लगाउनुस् र त्यसैमा ध्यान दिनुस् । आफ्नो लक्ष्यसम्म कसरी पुग्ने भनेर योजना बनाउनुस् । यस योजनाका लागि के आवश्यक पर्छ भनेर एउटा डायरीमा टिप्नुस् । तपाईंको लक्ष्य योजनाबारे तपाईंवरपर रहेका मानिसले तत्कालै आफ्ना विचार राख्न थाल्नेछन् । कसै–कसैले तपाईंलाई जिस्क्याउलान् पनि, तर उनीहरूलाई नसुन्नुस् । 

 आलोचनाले नडग्नुस् 
आलोचनाको अर्थ समस्या औँल्याएर नकारात्मक पक्षलाई उठान गर्नु हो । आलोचना सहेर त्यसलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ र आलोचना पाउने मानिसको आत्मविश्वास पनि घट्न सक्छ । मानिसहरू प्रायः आलोचना गर्छन्, तर उनीहरू त्यस काममा सहयोग गर्न सकिन्छ वा सकिन्न भन्ने विषयमा जानकार नहुन सक्छन् ।

उनीहरूले आलोचना होइन, सुझाव दिने हो । सुझावले नकारात्मक र सकारात्मक दुवै कुरालाई तौलन्छ र सुधारको बाटो पनि दिन्छ । यदि तपाईंलाई कसैले आलोचना गर्यो भने शान्तपूर्वक प्रतिक्रिया दिने र म त्यस्तो गर्न चाहन्नँ भनिदिने हो । यदि तपाईंले शान्तपूर्वक प्रतिक्रिया दिन नसक्नुको अर्थ तपाईंको आत्मविश्वासमा अझै सुधार आवश्यक छ भन्ने हो । तपाईंको यात्रा त्यहाँबाट सुरु हुनुपर्छ, आफूभित्र बलियो जग बनाउनुस्, त्यो जगले तपाईंलाई सही ट्र्याकमा रहन सहयोग गरोस् । 

 आत्मविश्वासी हुनुस् 
अरू मानिसलाई विश्वास गर्नुअघि तपाईंले पहिले आफैँलाई विश्वास गर्नुपर्छ । आफ्नो क्षमतालाई बुझेर आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्छ । जब तपाईंलाई आफ्नो बलियो पक्ष थाहा हुन्छ, तब तपाईंलाई आफू लागेको क्षेत्रमा आफ्नो विज्ञता कति छ भन्ने प्रस्ट थाहा हुन्छ र तपाईंसँग आत्मविश्वास हुन्छ । आफैँलाई माया गर्नुस् र आफू को हुँ भनेर चिन्नुस् । तपाईंको सबैभन्दा नजिकको साथी तपाईं नै हो । 
 

See More On

सुझावित समाचार