उपत्यकाका खानेपानीसँग सम्बन्धित सरकारी संस्थाहरूलाई गाभिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), उपत्यका खानेपानी बोर्ड र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)लाई एउटै संस्थामा गाभ्ने तयारी भएको हो ।
सबै संस्थालाई केयुकेएलअन्तर्गत रहने गरी गाभ्ने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानीमन्त्री अब्दुल खानले खानेपानी मन्त्रालयले उपत्यकामा खानेपानीसँग सम्बन्धित धेरै संस्था भएकाले खानेपानी सेवा भद्रगोल भएको भन्दै त्यसलाई व्यवस्थित गर्न एउटै संस्था बनाउन लागेको बताए । उनले संस्थाहरूलाई एकीकरण गर्न कर्मचारी र अन्य संस्थागत विवरण माग गरेका छन् । हाल यी तीनवटा संस्थामा चार सय हाराहारी कर्मचारी छन् । तर, एउटै संस्थामा गाभेपछि कर्मचारी व्यवस्थापनमा भने चुनौती हुने अवस्था छ ।
एउटै संस्था बनाएपछि त्यसले उपत्यकामा खानेपानीसँग सम्बन्धित सबै कार्य गर्नेछ । यसो गर्दा काम गर्न सहज हुने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उनले पुनर्संरचना गर्दा खानेपानी वितरण र व्यवस्थापनमा थप सहज हुने बताए । ‘मन्त्रीज्यूले पुनर्संरचनाको मनसाय देखाउनुभएको छ,’ उनले भने, ‘खानेपानीसँग सम्बन्धित धेरैवटा संस्था भएकाले व्यवस्थापन भने झन्झटिलो हुने देखिन्छ ।’
खानेपानी संस्थान उपत्यकाभन्दा बाहिर काभ्रेपलाञ्चोकको बनेपामा रहेकाले यसलाई गाभ्नुनपर्ने मन्त्रालयले जनाएको छ । हाल चारवटा संस्था भए पनि कुन संस्थामा के जिम्मेवारी भन्ने स्पष्ट नहुँदा उपत्यकामा खानेपानी वितरणमा समस्या हुने गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा खानेपानी वितरणको काम गर्छ ।
यसबाहेक अन्य जिम्मेवारी केयुकेएलको छैन । उपत्यका खानेपानी बोर्ड त झन् कर्मचारी भर्ती गर्ने ठाउँ भएको छ । यो संस्थाको जिम्मेवारीभित्र खानेपानी पाइप व्यवस्थित र चुहावट टाल्ने भए पनि बोर्डले त्यसतर्फ काम गरेको छैन । बनेपामा रहेको खानेपानी संस्थानले हाल सीमित क्षेत्रमा मात्रै जार तथा बोतलको पानी उत्पादन र वितरण गर्दै आएको छ । दैनिक नौ हजार कार्टुन र नौ हजार जारको पानी उत्पादन गर्छ । यति पानीले बनेपा क्षेत्रमा पनि अपुग हुन्छ ।
मन्त्री खानले सरकारी सबै कार्यालयमा सरकारी संस्थाले नै उत्पादन गरेको बोतल र जारको पानी वितरण हुनुपर्ने भन्दै खानेपानी संस्थानलाई उत्पादन बढाउन निर्देशनसमेत दिएका छन् । पिआइडीको पनि पछिल्लो भूमिका कम छ । मेलम्चीको खानेपानी काठमाडौं आइसकेकाले यसलाई खारेज गरेर यसको मर्मत–सम्भारको जिम्मेवारी अन्य निकायलाई दिन सकिने मन्त्रालयले जनाएको छ ।
‘सरकारी निकायले पनि बोतल र जारमा पानी वितरण गर्नुपर्यो’
खानेपानीमन्त्री खानले उपत्यकामा जार तथा बोतलको पानी वितरणमा निजी क्षेत्र हाबी भएको भन्दै त्यसलाई रोक्न सरकारी संस्थाले पनि बोतल र जारको खानेपानी उत्पादन गर्नुपर्ने बताएका छन् । उनले केयुकेएलले धारामै वितरण गर्ने पानी सीधै पिउन योग्य हुनुपर्ने बताउँदै त्यसैअनुसार पानी शुद्धीकरण गर्न केयुकेएललाई निर्देशन दिएका छन् ।
‘खानेपानीसँग सम्बन्धित धेरै संस्था हुँदा काम भद्रगोल भयो, यसलाई पुनर्संरचना गर्न जरुरी छ,’ उनले भने, ‘एउटै बलियो संस्था भयो भने सबैतिर हेर्न सकिहाल्छ ।’ उनले सरकारी खानेपानी संस्थानले नै पुग्दो मात्रामा जार तथा बोतल पानी उत्पादन गरेर वितरण गर्ने योजना आफूले अघि सारेको बताए । उपत्यकाभर जार तथा बोतल पानी उत्पादनका लागिचाहिँ जनशक्ति र स्रोतसाधन मन्त्रालयले उपलब्ध गराउने मन्त्री खानको भनाइ छ ।
संस्था धेरै हुँदा कामै भएन
अब्दुल खान, खानेपानीमत्री
खानेपानीसँग सम्बन्धित धेरै संस्था हुँदा काम भद्रगोल भयो, यसलाई पुनर्संरचना गर्न जरुरी छ । एउटै बलियो संस्था भयो भने सबैतिर हेर्न सकिहाल्छ ।