सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन व्यवसायीकाे माग

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल सुनचाँदी व्यवसायीहरूले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेका छन्। सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेकाले कोटा सिस्टम हटाउनुपर्ने बताए। कोटा सिस्टमका कारण बजारमा सुनको माग बढी भए पनि सोअनुसार बिक्री गर्न नपाएको व्यवसायीको गुनासो छ। कोटा सिस्टम क्षणिक समयका लागि हुने भए पनि लामो समयसम्म रहँदा सुन तस्करी गरी ल्याउने क्रम बढेको शाक्यको भनाइ छ।

महासंघका अनुसार सिजनको समयमा बजारमा ४० किलोको हाराहारीमा माग आए पनि १० किलो मात्रै सुन आयात भइरहेको छ। विधिवत रूपले बैंकबाट आउनेबाहेक विदेशबाट आउने नेपालीले बिनाभन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भए पनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरूलाई पक्राउ गरी अनावश्यक दुःख दिने गरेको महासंघको आरोप छ।

महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्षा हुन जरुरी रहेको बताएको छ।

सुझावित समाचार