उपाधिमा प्रिन्सको ह्याट्रिक

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

 प्रिन्स दाहालले १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फ उपाधि जितेका छन् । प्रिन्सले लगातार तेस्रो संस्करणमा च्याम्पियन ट्रफी उचालेका हुन् । उपाधि भिडन्तमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जनलाई २–० को सोझो सेटमा हराएका हुन् । प्रतियोगितामा पुरुषतर्फ नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयताबीच प्रतिस्पर्धा भएको थियो । 

लगातार तीन संस्करणको च्याम्पियन बनेका प्रिन्सलाई राष्ट्रिय ब्याडमिन्टन संघले स्कुटर प्रदान गर्ने भएको छ । प्रिन्सले अर्काे संस्करणको उद्घाटन खेलमा स्कुटर प्राप्त गर्नेछन् । प्रिन्सले फाइनलमा प्रफुल्लमाथि २१–१४ र २१–१७ को जित निकाले । पहिलो सेटमा सहज जित निकालेका प्रिन्स दोस्रो सेटमा १–८ ले पछि परेका थिए । उनले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेटमा प्रफुल्ललाई २१–१७ ले निराश पारे । पछिल्लो आठ दिनमा प्रिन्सले प्रफुल्ललाई दोस्रोपटक हराएका हुन् । नेपाल पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन तेस्रो भएका छन् । 

उपाधिसँगै प्रिन्सले ५० हजार र उपविजेता प्रफुल्लले ३० हजार रुपैयाँ पाए । खेलाडीलाई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पुरस्कार वितरण गरेका थिए । महिला शीर्ष १२ वरीयताको एकलतर्फ आर्मीकी अनुमाया राईले उपाधि जितिन् । उनले एपिएफ क्लबकी जेशिका गुरुङलाई १८–२१, २१–१७ र २१–६ ले हराइन् ।

च्याम्पियन अनुमायाले ५० हजार र उपविजेता जेशिकाले २८ हजार रुपैयाँ प्राप्त गरे । पुरुष यू–१७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउदले उपाधि जिते । महिला यू–१७ तर्फ आर्मीकी रिहाना शेरचन विजयी भइन् । पुरुष ४५ वर्षमाथिको प्रतिस्पर्धामा काठमाडौंका सञ्जय कपाली र श्याम लामाको जोडीले उपाधि जित्यो । 

See More On

सुझावित समाचार