नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुविरुद्ध प्रदर्शन गरेको छ । शुक्रबार उद्योगी व्यवसायीका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् ।
बैंकहरुले बढाएको चर्को ब्याजदर घटाउनु पर्ने, उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेट अन्त्य गर्नुपर्ने र बैंकको ज्यादती अन्त्य गर्नुपर्ने भन्दै व्यवसायीहरु सडक आन्दोलनमा होमिएका हुन् ।
विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरुले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतंकलाई बन्द गर्न माग गरे । देशका उद्योगी व्यवसायीहरुको माग सम्बोधन हुन सबै व्यवसायीहरु प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै उनले सरकारलाई प्रश्नसमेत गरे ।
त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदा समेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको उनको आरोप छ ।
पछिल्लो समय कोभिड महामारीलगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको उनीहरुको आरोप छ ।