इन्टरनेटमार्फत तपाईं धेरै विषय हेर्न सक्नुहुन्छ । यसले तपाईंलाई ज्ञानवद्र्धक तथा मनोरञ्जक सामग्रीहरू प्रदान गरिरहेको हुन्छ । तपाईंको एक क्लिकमै तपाईंले चाहेको कुरा भेटाउन सक्नुहुन्छ । तर, इन्टरनेटको लत लाग्यो भने तपाईंमा धेरै समस्या पनि देखिन सक्छन् । त्यसैले आवश्यकताबाहेक इन्टरनेट धेरै चलाउनु राम्रो होइन । सबैभन्दा पहिले इन्टरनेटले तपाईंको समयतालिकामा असर गर्छ । इन्टरनेट चलाउँदा–चलाउँदै तपाईंले गर्नुपर्ने प्राथमिकताका काम गर्न भुल्नुहुन्छ ।
इन्टरनेट प्रयोग गरिरहँदा तपाईंको मुड निकै खुसी हुन्छ । तपाईं आफ्ना सबै चिन्ता र जिम्मेवारीबाट मुक्त महसुस गर्नुहुन्छ । त्यसपछि बिस्तारै तपाईं गैरजिम्मेवार बन्न थाल्नुहुन्छ । विभिन्न बहाना बनाएर प्राथमिकताका काम गर्न छाड्नुहुन्छ । यसरी इन्टरनेटमा अत्यधिक समय व्यतीत गर्दा अन्य जिम्मेवारी र काम छुटेको पत्ता हुँदैन ।
मुड स्विङको सामना गर्नु एक प्रमुख लक्षण हो । अत्यधिक समय इन्टरनेटमा बसेपछि तपाईंको व्यवहार उग्र हुन थाल्छ । तपाईं आक्रोशित हुन थाल्नुहुन्छ । तपाईंको एकाग्रता कम हुन्छ । धेरै कुरा देखेर वाक्क लाग्न थाल्छ । इन्टरनेटको लत लाग्नेलाई रातको समय राम्रो निद्रा लाग्दैन ।
इन्टरनेटको लतमा फसेपछि मानिस शारीरिक र मानसिक रूपमा प्रताडित हुन थाल्छन् । कोही त डिप्रेसनमै जान्छन् । कसै–कसैमा अपराध बोध अर्थात् प्रायश्चित भावना पैदा हुन्छ ।
केही शारीरिक लक्षण
इन्टरनेटका केही शारीरिक लक्षण पनि हुन्छन् । जस्तै, लामो समय स्क्रिनमा बस्नेको आँखामा समस्या देखिन्छ । आँखा सुक्खा हुन्छ, कतिपयको आँखा चिलाउँछ वा पोल्छ । कतिपयलाई टाउको दुखाइ हुन्छ । एकै पोजिसनमा बस्दा पिठ्युँमा दुखाइ, गर्दनमा दुखाइलगायत समस्या देखिन्छ ।
वजन बढ्छ वा कम हुन्छ, किनकि तपाईं इन्टरनेटको लतमा फसेपछि लामो समय कोठामै बस्नुहुन्छ । शारीरिक गतिविधि वा व्यायाम कम हुन्छ । जसकारण वजन बढ्न सक्छ । कतिपयले इन्टरनेट मात्रै चलाइराख्छन् र खाना खान पनि भुल्छन्, जसकारण वजन घट्न सक्छ ।
समस्याबाट कसरी बाहिर निस्कने ?
समस्या स्वीकार गरेपछि मात्रै मानिसले उपचारको विधि पहिल्याउने हो । त्यसैले समस्याबाट बाहिर निस्कनका लागि पहिले तपाईंले इन्टरनेटको लतलाई गम्भीर समस्याका रूपमा स्विकार्नुपर्छ । त्यसपछि पनि तपाईंले एकैपटक इन्टरनेटको लत हटाउन सक्नुहुन्न । तपाईंले बिस्तारै इन्टरनेटमा बिताउने समय घटाउँदै लग्नुपर्छ ।
हप्तामा तपाईंले ३६ घन्टाभन्दा धेरै समय इन्टरनेटमा बिताउनुभयो भने यसलाई लत मानिन्छ । तपाईंले यसलाई घटाएर १६ घन्टाभन्दा कम समयमा झार्नुपर्छ । राम्रो महसुस गर्नका लागि अन्य गतिविधिमा व्यस्त राख्नुस् । मानिसहरूसँग भेट्न सुरु गर्नुस् । खेल खेल्नुस् ।
परिवारसँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्नुस् । घुम्न जानुस् । लामो दूरीको यात्रा गर्नुस् । किताब पढ्नुस् । डायरी लेख्न थाल्नुस् । यदि यी उपायले इन्टरनेटको लतबाट छुटकारा पाउन मद्दत मिलेन भने मनोचिकित्सकको सहायता लिन सकिन्छ । (अनुवाद : फेमिना डटकम)