बुधबार राति बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएका सांसद चन्द्र भण्डारीलाई भेट्न कांग्रेसका शीर्ष नेता अस्पताल पुगेका छन्।
उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न अस्पताल लैजाने तयारी भइरहेको छ।

उनको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको कीर्तिपुर बर्न अस्पतालले जानकारी गराएको छ। अस्पतालले थप उपचार गर्न मुम्बई लैजान सिफारिस गरेसँगै पार्टी तथा परिवारले उनलाई मुम्बई लैजाने निर्णय भएको हो।
भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले उनलाई थप उपचारका लागि मुम्बईस्थित बर्न अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए।

उनीसँगै घाइते भएकी भण्डारीकी आमाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। आमाको शरीर ७५ प्रतिशत जलेको छ। घटनालगत्तै आमाछोरालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।


