काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे दश बजेतिर ग्यास चुहिएर आगलागी हुँदा कांग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारी र ८६ वर्षीया आमा हरिकला गम्भीर घाइते भएका छन् ।
दुवैको कीर्तिपुर अस्पतालको वर्न युनिटमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले हरिकलाको ७५ देखि ८० र सांसद भण्डारीको २५ देखि ३० प्रतिशत भाग जलेको बताएका छन् ।
आगो कसरी लाग्यो भन्ने अझै खुलेको छैन । तर, आगलागीको घटनालगत्तै उद्धारमा खटिएका छिमेकीहरूले दिएको जानकारीअनुसार राति साढे दश बजेतिर ठूलो आवाज आएको थियो ।
लगत्तै घरको माथिल्लो तलामा रहेका भण्डारीका भाइ–बुहारी तल ओर्लिएर हारगुहार गरेपछि छिमेकीहरू पुगेका थिए । त्यतिवेलासम्म हरिकला करिब अचेत र सांसद भण्डारी अर्धचेत अवस्थामा भान्छाकोठामा लडिरहेका थिए ।
दुवैको शरीरमा रहेको कपडा जलिरहेको थियो भने आगोमा हरिकलाको करिब सबै भाग र सांसद भण्डारीको अनुहार, दुवै हात र खुट्टा जलेको थियो । लगत्तै उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि उद्धार गरेर हरिकलालाई सिभिल अस्पताल र सांसद भण्डारीलाई कीर्तिपुर अस्पताल पुर्याइएको थियो ।
घटना कसरी भयो भन्ने खुलिसकेको छैन । छिमेकीहरूका अनुसार ग्यास लिक भएर गन्हाएपछि हेर्न गएका वेला बत्ती बालेलगत्तै आगो लागेको थियो । ग्यास फैलिएको सबै क्षेत्रमा एकैपटक आगो फैलिएको थियो ।
बिहीबार बिहान घटनास्थल पुग्दा भुइँतलाको पश्चिमतर्फको कोठाको झ्यालका सिसा फुटेर करिब २० मिटर परसम्म छरिएको थियो ।
घटना हुनुअघिसम्म अवस्था सामान्य थियो । परिवारका सदस्यले दिएको जानकारीअनुसार बुधबार राति करिब साढे नौ बजे कांग्रेस नेता तथा सांसद एनपी साउदले सांसद भण्डारीलाई घरमा छाडेका थिए । त्यसअघि दुवैजना एक छलफलमा सहभागी भएका थिए । (*सम्पादन गरिएकाे)