‘जननेता मदन भण्डारी पनि संस्कृतकै उत्पादन हुनुहुन्थ्यो’

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भडारीले संस्कृत शिक्षासँग आफ्नो व्यक्तिगत र भावनात्मक सम्बन्ध रहेको बताइन्। बुधबार दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद शिक्षणको भवन उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।  

‘यस संस्कृत शिक्षासँग मेरो व्यक्तिगत र भावनात्मक सम्बन्ध पनि छ,’ उनले भनिन्, ‘जननेता मदन भण्डारी पनि संस्कृत क्षेत्रकै उत्पादन हुनुहुन्थ्यो, संस्कृत वाङमयको गहन अध्ययन गरेको हुनाले नै उहाँमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुणहरू विद्यमान थिए।’

जननेता भण्डारी आफ्नो जीवनकालमा धेरैपटक दाङ आएको भन्दै तत्कालीन अवस्थामा दाङको सामाजिक र प्राकृतिक विशेषताको वर्णना गरेको पनि स्मरण गरिन्। 

दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एउटा उपत्यका रहेको र मानव सभ्यताको विकास भएको स्थानका रूपमा पनि चिनारी रहेको उनको भनाइ थियो। त्यसमा पनि नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा थप उचाइ थपेकोसमेत उनले बताइन्।

‘संस्कृत भाषा, वाङमय र पूर्वीय सभ्यताको अध्ययन दाङमै हुने भएपछि नयाँ आयामसमेत थपिएको छ,’ उनले भनिन्, ‘मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ, दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएका छन्।’

साथै उनले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्नु विश्वविद्यायको कर्तव्य हुने बताइन्। साथै उनले शिक्षण भवन उद्घाटनसँगै यसले सयौँ आयुर्वेदका स्नातकरू उत्पादन हुनेसमेत  विश्वास व्यक्त गरिन्।

साथै उनले संस्कृत ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेसमेत बताइन्। कोरोनाले गर्दा आयुर्वेदको विश्वास थप बढेको भन्दै पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पत्तिका रूपमा आयुर्वेदलाई लिने गरिएकोसमेत राष्ट्रपति भण्डारीको भनाइ थियो।

आयुर्वेद, योग, ध्यानलगायत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अनेकौँ उपचार पद्धतिको खोज अनुसन्धानका लागि पनि संस्कृत विश्वविद्यालय क्रियाशील हुनुपर्ने बताइन्।  

साथै ऋषिमुनिहरूले नासोका रूपमा छोडेको आयुर्वेद, योग, प्राकृतिक चिकित्सा विधि, बौद्धिक कृषि, स्तापथ्य, वास्तुशास्त्र विषयलाई आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन उनले आग्रह गरिन्। 

विश्वविद्यालयको थुप्रै चल, अचल सम्पत्ति रहेको भन्दै त्यसलाई संरक्षण गरी आयआर्जनमूलक कार्यमा लगाउनुपर्नेसमेत उनको  भनाइ थियो। 

राष्ट्रपति भण्डारीले नेपालीको पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने भन्दै यसको नेतृत्व विश्वविद्यालयसहित अन्य प्राज्ञिक संस्थाहरूले लिनुपर्ने बताइन्।

‘नेपालको राजनीतिक, सामाजिक, आर्थिक, नैतिक पुनर्निर्माण गर्दै यी सबैको समष्टिगत रूप संस्कृति रहेको भन्दै यसको पुनर्निर्माणको सँघारमा हामी उभिएका छौँ,’ उनले भनिन्, ‘हाम्रो परिकल्पना केवल आर्थिक समृद्धि र भौतिक सुखसँग मात्रै सम्बन्धित छैन। सांस्कृतिक, नैतिक र सभ्यतागत उच्चतासँग पनि सम्बन्धित छ। हामी सांस्कृतिक पुनरुत्थानको महान् यात्रामा गतिशील छौँ।’

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले संस्कृत विश्वविद्यालयलाई व्यवस्थित गर्नका लागि सहयोगी बन्ने बताइन्।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कुलसचिव माधव अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विश्वविद्यालयबारे शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले मन्तव्य व्यक्त गरे।  

आयुर्वेदमा स्नातक (बिएएमएस)को अध्ययनका लागि उक्त भवन निर्माण भएको हो। सोही भवन ०७४ साल असारमा निर्माण पूरा भएको हो। २४ लाख ७० हजारभन्दा बढी लागतमा निर्माण भएको उक्त भवनका तीनवटा खण्ड छन्। 

तीन तलाको रहेको उक्त भवनमा एक सय आठवटा कोठा छन्। निर्माण भएको पाँच वर्षपछि मात्रै उद्घाटन गरिएको हो। सोही भवनमा कोरोनाको समयमा लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पताल पनि सञ्चालनमा ल्याएको थियो।

त्यसभन्दा अघि बिएएमएसको अध्यापन र प्रयोगात्मकका लागि ओपिडी सेवासमेत सञ्चालनमा थियो। तर,अहिले अध्ययन भइरहेको भए पनि ओपिडी सेवा भने सञ्चालन हुन सकेको छैन। 

ओपिडी सेवा सञ्चालन नहुँदा त्यहाँका विद्यार्थी प्रयोगात्मकका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने अवस्था छ। अहिले ११औँ ब्याचका विद्यार्थीको पढाइ भइरहेको छ। ६ ब्याच उत्तीर्ण भएर गइसकेका छन्।
 

सुझावित समाचार