करुणा फाउन्डेसनको सक्रियतामा ह्विलचेयर वितरण

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

करुणा फाउन्डेसनको सक्रियतामा विराटनगरमा अपांगता भएका व्यक्तिहरूलाई ह्विलचेयर वितरण गरिएको छ । प्रदेश सरकार, प्रदेश नं १, करुणा फाउन्डेसन नेपाल, बाल अपांग टेवा संस्था, ह्विलचेयर फाउन्डेसन तथा राष्ट्रिय अपांग महासंघ नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ह्विलचेयर वितरण गरेका हुन् । 

कार्यक्रममा मोरङ र सुनसरी जिल्लाका विभिन्न १५ स्थानीय तहका २४ पुरुष र ११ जना महिला गरी जम्मा ३५ जना अपांगता भएका व्यक्तिलाई ह्विलचेयर प्रदान गरिएको कुरा करुणा फाउन्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरेले बताए ।ह्विलचेयर पाउनेहरूमध्ये ६ जना बालबालिका र २९ जना वयस्क अपांगता भएका व्यक्तिहरू रहेका थिए ।

अपांगता भएका व्यक्तिहरूको जीवनको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले ह्विलचेयर वितरण गरिएको करुणा फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले हाल करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा यस प्रदेशका विभिन्न स्थानीय तहहरूमा अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनमा रहेको र यसको प्रभावकारिता, आवश्यकता र स्रोत हेरी अन्य सबै स्थानीय तहहरूमा विस्तार गर्ने लक्ष्य रहेको बताए । अपांगता हुनबाट बचाउनका लागि सचेतनाका क्रियाकलाप प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा करुणा फाउन्डेसन नेपालका सहनिर्देशक योगेन्द्र गिरीले अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन रहेका प्रदेश नं १ का ५८ स्थानीय तहहरूमा हाल २८ हजारभन्दा बढी अपांगता भएका व्यक्तिहरू रहेको बताए । 

सुझावित समाचार