हिमाली जिल्ला मनाङमा यस वर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यस वर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन ।
सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्यांक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्यांक छ । ‘विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ, तर यस वर्ष हिँउ परेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, हिउँ नपरे पनि झन् विदेशी पर्यटक बढेका छन्,’ प्रमुख गौतमले भने ।
नयाँ वर्षको योजना बनाएर कोरियाका पर्यटक मनाङ भ्रमणमा आएका थिए । उनीहरू यहाँको भन्दा बढी चिसोमा बसिरहेको हुनाले हिउँदमा त्यहाँका पर्यटक बढी आउने गरेको उनले बताए । हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायत विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएका थिए ।
त्यस्तै, फ्रान्सका ३६, अस्टे«लियाका ३४, बेलायतका २१, जर्मनीका २१, अमेरिकाका १५, बेल्जियमका १३, भारतका १२ र नेदरल्यान्ड्सका १० पर्यटक भित्रिएका र अन्य देशबाट भने अलि कम पर्यटक भित्रिएको प्रमुख गौतमको भनाइ छ । ‘चिसोका कारण प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई मात्र तिलिचो ताल र थोराङ्ला भएर जान अनुमति दिएका छौँ । हिउँ नपर्दा सुक्खापन बढेको छ । यसले कृषिबालीमा समेत समस्या हुने देखिएको छ,’ उनले भने, ‘यस वर्ष मनाङमा हिमपात हुने स्थिति देखिएको छैन ।’