यसरी प्रख्यात भयो टेडी बियर

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

हिजोआज प्रेम दर्शाउनका लागि मानिसहरू एकले अर्कालाई टेडी बियर दिन्छन् । उपहारमा चर्चित बनेको टेडीको कथा एक सय २१ वर्ष पहिले सुरु भएको थियो ।अमेरिकाका तत्कालीन राष्ट्रपति थियोडोर टेडी रुजवेल्ट मिसिसिपी राज्यका गभर्नर लागिन्नोसँग भालुको सिकार गर्न पुगेका थिए । तर, राष्ट्रपतिको निशाना सही लागेन । त्यसपछि उनका असिस्टेन्ट हल्ट कालियरले एउटा कालो भालुलाई रूखमा बाँधेर राष्ट्रपतिलाई सिकार गर्न सल्लाह दिए । उक्त भालुको निर्दोषपन देखेपछि राष्ट्रपति सिकार नगरी फर्किए । 

यो विषय अमेरिकाभर चर्चा भयो । राष्ट्रपतिको तारिफ पनि भयो । यसपछि वासि‌ङ्टन पोस्टमा राष्ट्रपतिले गोली हान्न नमानेको एउटा कार्टुन छापियो । यही कार्टुनबाट प्रभावित भएर एक पसलेले भालुको प्रेमिल आकृतिसहितको कपडाको खेलौना बनाए । उनले राष्ट्रपति टेडी रुजवेल्टको सम्मानमा यस खेलौनाको नाम पनि टेडी राखे ।

सुरुमा यो खेलौना बच्चाहरूले अत्यधिक प्रयोग गरेका थिए । अमेरिकामा प्रसिद्ध बनेको टेडी बियरलाई विश्वप्रसिद्ध बनाउने श्रेय भने मार्गरेट स्टिफलाई जान्छ । दक्षिण जर्मनीकी स्टिफ केवल डेढ वर्षको उमेरमै पोलियोको सिकार भएकी थिइन् । उनले ह्विलचेयरमा बसेर खेलौना बनाउने काम गर्थिन् र उनका भतिजाले यस कामको मार्केटिङ गर्थे । क्रिसमसको समय उनका खेलौना निकै बिक्थे । पहिले सफ्ट हात्ती बनाएकी मार्गरेटले जब टेडी बियर बनाइन्, तब त्यो अर्कै बन्यो । उनले उक्त खेलौनालाई काँचको आँखा, प्लास्टिकको नाक र रंगीबिरंगी कपडाले सिँगारिन् । 

यस खेलौनालाई प्रदर्शनीमा राखियो र एकजना अमेरिकी व्यापारीले एकैपटक तीन हजारको अर्डर दिए । यसरी मार्गरेटले बनाएका काँचको आँखा र प्लास्टिकको नाकसहितका टेडी बियरको माग बढ्दै गयो । त्यसपछि विश्वभर नै यस्तैखाले टेडी बियर बनाउन थाले । 

सुझावित समाचार