बाइडेन र ट्रम्प कि युवा उम्मेदवार ?

अमेरिकी आममतदाताको नयाँ प्राथमिकताप्रतिको चासोबीच जुन पार्टीले युवा उम्मेदवार उठाउनेछ उसैले राजनीतिक लाभ हासिल गर्ने सम्भावना छ

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

सन् १९१८ को इन्फ्लुएन्जाको प्रकोपले दशौँ लाख मानिसको ज्यान लियो । पछिल्लो समयको कोरोना भाइरस महामारीले जस्तै यसले पनि दैनिक जीवनलाई नराम्ररी प्रभावित बनायो । तर, जसै तिनको असर अन्त्य भयो, तिनको उल्लेख लोकप्रिय संस्कृतिमा कुनै नामोनिसान नदेखिने गरी हरायो । अमेरिकीहरू युद्ध र महामारीलाई बिर्सिएर सन् १९२० को दशकमा अघि बढे । केहीले आज उस्तै गतिशीलता महसुस गर्छन् । महामारी लगभग अन्त्य भइसक्दा र अर्थव्यवस्था पूर्वावस्थामा फर्कन थालेपछि, धेरै अमेरिकी नयाँ चुनौतीमा केन्द्रित राजनीतिका लागि तयार देखिन्छन् । 

राष्ट्रपति जो बाडेनले गत साता कंग्रेसको संयुक्त सेसनमा गरेको ‘स्टेट अफ द युनियन’ भाषणमा त्यही अग्रगामी दृष्टिकोण प्रस्तुत भएको थियो । सम्बोधनमा बाइडेनले अमेरिकी आपूर्ति शृंखला पुनर्निर्माण गर्ने र नवप्रर्वतनलाई प्रोत्साहित गर्ने सरकारको प्रतिबद्धतामाथि प्रकाश पारे । तर, कुनै पनि बयानबाजीले यो तथ्यलाई लुकाउन सक्दैन कि अमेरिकी राजनीति पुनः चार वर्षअघिकै राजनीतिक प्रतिस्पर्धातर्फ अघि बढिरहेको छ । हुन त यसबारे चर्चा गर्न हतार होला, तर सन् २०२४ को राष्ट्रपतीय निर्वाचन युवा र उत्साही राजनीतिज्ञबीच नभई यसअघिकै दुई बूढा नेताबीच हुने सम्भावना उच्च छ । त्यस्तो परिस्थितिले राष्ट्रलाई नोक्सान गर्नेछ । 

नयाँ मतदाताले नयाँ प्रतिस्पर्धीको इच्छा देखाएका छन् । वासिंगटन पोस्ट–एबिसी न्युजको सर्वेक्षणमा, डेमोक्रेटिक मतदाता तथा डेमोक्रेटिक पार्टीप्रति झुकाव राख्ने मतदातामध्ये ५८ प्रतिशतले तिनको पार्टीले सन् २०२४ मा बाइडेनबाहेक अरू कसैलाई मनोनयन गरोस् भन्ने चाहेका छन् । सर्वेक्षणअनुसार, रिपब्लिकन मतदाता र रिपब्लिकन पार्टीका नीतिप्रति नजिक मतदातामध्ये ४९ प्रतिशतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबाहेक अरू नै उम्मेदवार होस् भन्ने चाहेका छन् ।

डेमोक्रेटिक पार्टीभित्र आगामी प्राइमरी (आन्तरिक पार्टी प्रतिस्पर्धा) मा बाइडेनका स्पष्ट प्रतिद्वन्द्वी हालसम्म देखिएका छैनन् । तर, ट्रम्पलाई कट्टर समर्थकको एक समर्पित आधारको लाभ भए पनि रिपब्लिकन पार्टीभित्र पार्टीकै आन्तरिक प्रतिस्पर्धामा उनको जित सुनिश्चित छैन । ४४ वर्षीय फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले विभिन्न नीतिगत जित र सांस्कृतिक मुद्दामार्फत रिपब्लिकन पार्टीभित्र समर्थक बढाउँदै लगेका छन् । त्यस्तै, संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत रहिसकेकी निक्की हेलीले पनि उम्मेदवारी दिने चर्चा छ । 

उनको मनोनयन अनिश्चित भए पनि त्यसले पुस्तान्तरण तथा फरक प्राथमिकतालाई प्रतिनिधित्व गर्नेछ । रिपब्लिकन पार्टीका कैयौँ अधिकारी ट्रम्पको आगामी चुनावी अभियान विगततर्फको फिर्ती हुने बताउँदै श्रमिक अमेरिकी पार्टीबाट टाढिने जोखिम रहेकामा चिन्तित छन् । दुवै पार्टीमा सुरक्षित उम्मेदवारको मोह हाबी छ । डेमोक्र्याटमा बाइडेनमा श्रमिक मतदातालाई प्रत्यक्ष जोड्ने क्षमता रहेकाले उनले पूर्ववर्ती ट्रम्पविरुद्ध जित दोहोर्याउन सक्ने विश्वास छ ।

अमेरिकी आममतदाताको नयाँ प्राथमिकताप्रतिको चासोबीच जुन पार्टीले युवा उम्मेदवार उठाउनेछ उसैले राजनीतिक लाभ हासिल गर्ने सम्भावना छ
 

रिपब्लिकनहरू वासिङ्टन पोस्ट र एबिसी न्युजजस्ता मिडियाको सर्वेक्षणकै आधारमा आजको दिनमा चुनाव भए ट्रम्प बाइडेनमाथि भारी पर्ने भनेर उत्साहित छन् । कुनै युवा उम्मेदवारले यी पुराना उम्मेदवारलाई बलियो प्रतिस्पर्धा दिए भने उमेरका कुरा उठ्न सक्छन् । पूर्वआवास तथा सहरी विकासमन्त्री जुलियन क्यास्ट्रोका अनुसार बयोवृद्ध उम्मेदवारका स्मरणशक्ति वा श्रवणशक्तिलाई आक्रमण गर्दा प्रत्युत्पादक हुने गर्छ । त्यसैले, वृद्ध प्रतिद्वन्द्वीविरुद्ध चुनावमा उत्रिने उम्मेदवारले यी विषयमाथि आक्रमण नगर्न सचेत हुनुपर्छ । अन्यथा, ठूलो मतदाता रहेका वृद्ध अमेरिकी उनीहरूविरुद्ध उभिने खतरा हुन्छ । 

तर, तथ्य के पनि हो भने वर्तमान राष्ट्रपति बाइडेन र पूर्वराष्ट्रपति ट्रम्प नेटो निर्माण र जनवादी गणतन्त्र चीन तथा इजरायल गठन हुँदादेखि जीवित छन् । तिनले भोगेका हरेक घटना अनुभव गरेर हुर्किएका अमेरिकी जनसंख्या पाँच प्रतिशत मात्र बाँकी छ । बाँकीले ती घटना इतिहासका किताब पढेर मात्र थाहा पाएका हुन् । उमेरले ज्ञान र बहुमूल्य दृष्टिकोण प्रदान गर्छ तैपनि वर्तमान राष्ट्रपति र पूर्वराष्ट्रपति दुवैले परिवर्तनको आकांक्षालाई ख्याल गर्दै उम्मेदवारी दिनुहुँदैनथ्यो ।

राष्ट्रपतिको एक कार्यकालबाट पनि ट्रम्प र बाइडेन दुवैले चुनावी अभियानका क्रममा गरेका वाचा पूरा गरे । ट्रम्पले देशमा बिर्सिइएका पुरुष र महिलाका दुर्दशाप्रति ध्यानाकर्षण गर्ने र चीनको उदयप्रति बेवास्ता गरिरहेको विश्वव्यापीकरणलाई बदल्ने वाचा गरेका थिए । त्यस्तै, बाइडेनले ट्रम्पका चार वर्षका अराजकतालाई पहिलेको सामान्य अवस्थामा फर्काउने वाचा गरेका थिए । 

आममतदाताको नयाँ प्रथामिकताप्रति चासोबीच जुन पार्टीले युवा उम्मेदवार उठाउनेछ त्यही पार्टीले राजनीतिक लाभ हासिल गर्ने सम्भावना छ । डेमोक्र्याटहरू सन् २०२० को प्राइमरी चुनावमा ट्रम्पलाई हराउन सक्ने उत्कृष्ट उम्मेदवार छनोटमा केन्द्रित थिए । सायद बाइडेन अझै पनि त्यस कामका लागि सही व्यक्ति हुन सक्छन् ।

 तर, वर्तमानका मुद्दामा केन्द्रित युवा र ऊर्जावान् राजनीतिज्ञ सहभागी हुने राष्ट्रपतीय बहस शीतयुद्धको समयमा विचार बनाएका राजनीतिज्ञको भन्दा एकदमै भिन्न हुनेछ । चाहे त्यो गर्भपतन अधिकारका विषयमा होस् या रिपब्लिकन उम्मेदवारको विषय होस् । साना बच्चाहरूको अभिभावकका रूपमा होस् या बालबालिकालाई अझ राम्रोसँग सुरक्षित गर्ने आवश्यकताको विषय होस्, यी सबै नयाँ चुनौतीमा ध्यानकेन्द्रित गर्न सक्ने युवा उम्मेदवार अगाडि आउनु धेरै आवश्यक छ । 

(कंग्रेसको संयुक्त आर्थिक समितिका पूर्ववरिष्ठ नीति सल्लाहकार ब्राउन वासिङ्टन डिसीमा आधारित एक रूढीवादी थिंकट्यांक र वकालत समूह, नैतिक र सार्वजनिक नीति केन्द्रसँग आबद्ध छन्) 
 

सुझावित समाचार