एमालेले टुंग्यायो ‘मिसन ग्रासरुट’मा खटिने नेताको नाम

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

एमालेले दुईमहिने ‘मिसन ग्रासरुट’ पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियानमा खटिने नेताहरूको नाम टुंग्याएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले दुईमहिने अभियानमा खटिने नेताहरूको नाम टुंगो लगाएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

सातै प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमको सुरुवात अध्यक्ष केपी ओलीले आगामी शुक्रबार भर्चुअल माध्यमबाट एकसाथ गर्नेछन् । प्रत्येक प्रदेशमा आयोजना गरिने केन्द्रीय प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन उपाध्यक्षहरूको उपस्थितिमा गरिनेछ । समग्र अभियानको समापन आगामी १० वैशाखमा पार्टी कार्यालय च्यासलमा विशेष समारोहका साथ गरिनेछ । 

‘केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिनुहुनेछ,’ अधिकारीले भने । बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेश पनि टुंग्याएको छ । अभियान पालिका तहमा केन्द्रित हुनेछ । आवश्यकताअनुसार वडा तहसम्म पनि क्रियाकलाप सञ्चालन गरिने अधिकारीले जानकारी दिए । 

डा.भीष्म अधिकारी एमाले केन्द्रीय कार्यालय सचिव
केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिनुहुनेछ ।

पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने कार्यक्रम छ ।  

को कहाँ खटिँदै छन् ?
अभियानको मूल संयोजक अध्यक्ष केपी ओलीले गर्नेछन् । उपाध्यक्षहरू प्रशिक्षण र अभियानका अन्य क्रियाकलापमा संलग्न हुनेछन् भने महासचिव र उपमहासचिव वैचारिक, राजनीतिक सामग्री व्यवस्थापन, प्रचार संयोजन, आर्थिक–भौतिक व्यवस्थापनमा खटिने भएका छन् । सचिवहरूलाई अनुगमन संयोजनको जिम्मेवारी तोकिएको छ । 

पार्टीको भूगोल, विभाग र फाँटहरूमा जिम्मेवारी तोकिएका सबै पोलिटब्युरो र केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । स्थायी कमिटीका सदस्यलाई अनुगमनको जिम्मेवारीमा खटाइएको छ । सबै केन्द्रीय सदस्यलाई हाल जिम्मा लिएको जिल्लाभन्दा फरक जिल्लामा खटाइएको छ । प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी तोकिएको अधिकारीले जानकारी दिए । केन्द्रीय र जिल्ला प्रतिनिधिको उपस्थितिमा पालिका कमिटीको बैठक आयोजना गर्ने, राम्रो सम्भावना भएका युवा र सम्भावनायुक्त अन्य व्यक्तिलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने, भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने, विदेशमा रहेका सदस्यको हकमा भर्चुअल माध्यमबाट र टेलिफोनबाट सम्पर्क गरेर नवीकरण गरिने भएको छ । धेरैभन्दा धेरै टोल कमिटी गठन र पुनर्गठन गर्ने एमालेको लक्ष्य छ । 

प्रदेश १ मा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । अनुगमन संयोजनमा सचिव टोपबहादुर रायमाझी र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू शेरधन राई, अग्नि खरेल, राजेन्द्र गौतम र हिक्मत कार्की छन् । 

मधेस प्रदेशमा अभिमुखीकरणको जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । अनुगमन संयोजक सचिव रघुवीर महासेठ र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल छन् । 

बागमती प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाएका छन् । अनुगमन संयोजक सचिव गोकर्ण विष्ट, सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ छन् । 

गण्डकी प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष युवराज ज्ञवालीले पाएका छन् । अनुगमन संयोजक सचिव पदमा अर्याल र सदस्यहरूमा स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा छन् । 

लुम्बिनी प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष रामबहादुर थापाले पाएका छन् । अनुगमन संयोजक सचिव छविलाल विश्वकर्मा र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाङ्फे छन् । 

कर्णाली प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष सुवास नेम्वाङले पाएका छन् । अनुगमन संयोजक सचिव योगेश भट्टराई र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी छन् । 

सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष विष्णु पौडेलले पाएका छन् । अनुगमन संयोजक सचिव लेखराज भट्ट र सदस्यहरूमा स्यायी कमिटी सदस्यहरू मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा छन् । विशेष कमिटी (गैरभौगोलिक क्षेत्र)मा केन्द्रीय कमिटीले संयोजन गर्ने भएको छ । अभिमुखीकरण र अनुगमनको जिम्मा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र कार्यालय सचिव डा. भीष्म अधिकारीले पाएका छन् । 

See More On

सुझावित समाचार