उमेर बढ्दै जाँदा मानिसको शारीरिक तथा मानसिक क्षमता घट्दै जान्छ । र, विभिन्न रोगले पनि सताउन थाल्छ । त्यसैले केही कुरामा विशेष सतर्कता अपनाउन जरुरी छ ।
उचित खानपान
वृद्धावस्थामा आउने विभिन्न समस्याबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्ने हुन्छ । जसका लागि उमेरअनुसारको उचित खानपान गर्न जरुरी छ । आइरन, भिटामिन, क्यालोरी पाइने खानेकुरा नियमित सेवन गर्नुपर्छ । साथै, हरियो सागपात, माछा–मासु, अन्डा, गेडागुडी, मौसमी फलफूल खानु आवश्यक हुन्छ ।
शारीरिक कसरत
वृद्धावस्थामा मौसम हेरेर आफ्नो क्षमताअनुसार दैनिक हिँडडुल गर्न सकिन्छ । शरीर कमजोर हुने भएकाले भारी व्यायाम गर्नुहुँदैन । साथै, निष्क्रिय भएर एक ठाउँमा बसिरहनुभन्दा पनि आफूले गर्न सक्ने सानातिना काम गर्न उचित हुन्छ । यसले शारीरिक कसरत हुन्छ ।
औषधिको सही प्रयोग वृद्धावस्था सुरु भएसँगै केही न केही रोगले च्याप्न थाल्छ । त्यसैले, अधिकांश बुढाबुढीले औषधि सेवन गरिरहेका हुन्छन् । मधुमेह, रक्तचापजस्ता रोगका लागि प्रयोग गरिने औषधि समयअनुसार सेवन गर्नुपर्छ । त्यस्तै, औषधिको मात्रा र यसको साइड इफेक्ट आदि विषयमा ध्यान दिनुपर्छ । यसर्थ, यस्ता औषधि चिकित्सकको निगरानी वा सल्लाहमा मात्र खानु उचित हुन्छ । अनावश्यक औषधिले शरीर कमजोर बनाउने भएकाले यसका नकारात्मक असरबारे समेत विचार पुर्याउनुपर्छ ।
नियमित निद्रा
उमेर बढ्दै गएसँगै कतिपयमा अनिद्राको समस्या देखा पर्न थाल्छ । अनिद्राले शारीरिक थकानका साथै अन्य रोग लाग्ने सम्भावना हुने भएकाले सुत्ने समय व्यवस्थित गर्नुपर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने गर्नुपर्छ ।
सामाजिक गतिविधि
मानिस स्वस्थ रहन उसको मानसिक स्वास्थ्य पनि उत्तिकै स्वस्थ हुनुपर्ने भएकाले सामाजिक गतिविधिमा संलग्न हुनुपर्छ । परिवारसँग बढी समय बिताउने, सकेसम्म समूहमा बस्ने गरेमा बुढेसकालमा खुसी रहन सकिन्छ र स्वस्थ रहन मद्दत मिल्छ ।