भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक : राष्ट्रपति भण्डारी

शनिबार, २८ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकासमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पु¥याउने बताइन् ।

‘मुलुकको उच्चतम हीत र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकहरुमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने उल्लेख गरिन् ।

कानूनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभुति गराउनु राज्यको प्रमुख दायित्व भएकाले भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उनको धारणा छ ।

सुझावित समाचार