प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड कमलादी काठमाडौं र एलएनटी इन्फोटेक प्रालिको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमतिपत्र खारेज गरिएको जनाएको हो ।

इन्टरनेट (इमेलसहित) प्रभु डिजिटल (अनुमतिपत्र नं फि.ज १–१२१) र एलएनटीले (अनुमतिपत्र नं फि.ज १–१२२) नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम अनुमतिपत्र स्वतः खारेज भएको जनाएको छ ।

साथै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गरेबापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम ३० दिनभित्र तिर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा बाँकी बक्यौता रकम प्रचलित कानुनअनुसार असुलउपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।

यसअघि माघ १६ गते प्राधिकरणले लाइसेन्स नवीकरण नगरेको भन्दै केसिएन नेट प्रालि बौद्धलाई दिइएको लाइसेन्ससमेत खारेज गरेको थियो ।

सुझावित समाचार