प्रहरीको विरोधमा बजार बन्द गर्दै रौतहटका व्यापारी

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीको विरोधमा रौतहटका व्यापारीले बजार बन्द गरेका छन् । प्रहरीले आफैँ तस्कर गराएर सामान भन्सार कटाउन दिने र पछि आफैँ छापा मारेर नियन्त्रणमा लिन थालेको भन्दै स्थानीय व्यापारीले बजार बन्द गरेका हुन् ।

गौरमा भएको भेलापछि रौतहट उद्योग वाणिज्य संघले तीन दिन बजार बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि प्रहरीले बजार अनुगमनको नाममा गोदामबाट सामान बरामद गर्दै भन्सारमा बुझाउन थालेपछि बाध्य भएर बजार बन्द गरेकाे रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित जयसवालले बताए ।

भारतबाट तस्करी गरेर ल्याइएका अधिकांश सामान प्रहरीकै मिलेमतोमा नाका प्रवेश गर्ने गरेको व्यापारीको दाबी छ । रौतहटका सीमावर्ती क्षेत्रमा प्रहरीकै घुमुवाको मिलेमतोमा सामान नेपाल आउने र पछि प्रहरी आफैँले छापा मारी सामान भन्सारमा बुझाउन थालेपछि व्यापारी विराेधमा उत्रिएका हुन् ।

बैंकको बढ्दो ब्याजदर र प्रहरीले दिने हैरानीविरुद्ध आफूहरूले अत्यावश्यकबाहेकका सामान नबेच्ने निर्णय गरेको उद्याेग वाणिज्य संघका महासचिव रवीन्द्रनाथ गोपालीले बताए । प्रहरीले व्यावसायिक वातावरण बिगारेकाले आफूहरू बजार बन्द गर्न बाध्य भएको उनको भनाइ छ ।

सुझावित समाचार