टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी हालसम्म २१ हजारको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। टर्कीको विपत् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ।
अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपतकालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ। सिरिया र टर्कीका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ।
यस्तै संयुक्त राष्ट्रसंघीय सहायता निकायले पठाएकाे राहत सामग्री टर्कीको सिमाना पार गरेर सिरिया पुगेकाे छ। यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो।
टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जान सक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ। यद्यपि, उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन्।
बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवं परोपकारी संस्थासँग आग्रह गरेका छन्।
अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ। अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ।