सुदूरपश्चिमका तीन जिल्लामा कुष्ठरोगी बढ्दै

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

कुष्ठरोगका बिरामीको संख्या बर्सेनि बढ्दै गएपछि सुदूरपश्चिममा कुष्ठरोग निवारण चुनौतीपूर्ण बनेको छ । यहाँका नौ जिल्लामध्ये कैलाली, कञ्चनपुर र अछाममा नयाँ संक्रमित फेला पर्ने दर उच्च छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशभरि हाल दुई सय पाँच जना कुष्ठरोगका बिरामी रहेकोमा सबैभन्दा बढी कैलालीमा एक सय ३१, कञ्चनपुरमा ३२ र अछाममा २५ जना संक्रमित छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै यहाँ ७२ जना कुष्ठरोग संक्रमित फेला परेका निर्देशनालयको तथ्यांक छ । गत आर्थिक वर्षमा दुई सय पाँच, आर्थिक वर्ष ०७७/७८ मा दुई सय आठ र आर्थिक वर्ष ०७६/७७ मा एक सय ३७ जना नयाँ संक्रमित फेला परेका थिए । प्रतिएक लाख जनसंख्यामा नयाँ बिरामी पत्ता लाग्ने दर कैलालीमा करिब १४.३४ प्रतिशत, अछाममा १०.८५ र कञ्चनपुरमा ६.१७ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोज ओझाले जानकारी दिए ।

अन्य जिल्लामा यो दर तीन प्रतिशतभन्दा मुनि छ । डोटीमा पाँच, बाजुरामा चार, बझाङमा तीन, दार्चुला र बैतडीमा दुई–दुई तथा डडेल्धुरामा एकजना कुष्ठरोगका बिरामी रहेको उनले बताए । सरकारी तथ्यांकअनुसार सुदूरपश्चिममा रहेका कुष्ठरोगका बिरामीमध्ये एक सय ६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने रोग हो । दुईजना बालबालिका, ९४ महिला र ११ जना अपांगता भएका व्यक्ति कुष्ठरोगका बिरामी रहेका निर्देशनालयले जनाएको छ ।

प्रदेशभरि सबैभन्दा बढी संक्रमण देखिएको कैलालीमा पनि धनगढी उपमहानगरपालिकामा नयाँ बिरामी भेटिने दर उच्च छ । धनगढीमा प्रति १० हजार जनसंख्यामा संक्रमण दर चारजना रहेको क्षयकुष्ठ निरीक्षक ओझाले जानकारी दिए । धनगढीपछि बर्दगोरिया, जानकी, कैलारी तथा जोशीपुर गाउँपालिका र लम्की–चुहा नगरपालिकामा नयाँ संक्रमित फेला पर्ने दर उच्च रहेको उनले बताए । पछिल्लो तथ्यांकअनुसार देशभर कुष्ठरोगका नयाँ बिरामी संख्या दुई हजार २८५ छ । कुष्ठरोगका बिरामीको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा नौ सय १० जना छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले सामाजिक अपहेलनाका कारण कतिपयले अहिले पनि कुष्ठरोग लुकाएर बस्ने गरेका बताए । खासगरी पहाडी जिल्लामा रोग जटिल बन्न थालेपछि मात्रै उपचारका लागि आउँदा स्वास्थ्यमा विभिन्न जटिलता आउने र संक्रमण पनि फैलने गरेको उनले बताए । सुदूरपश्चिमका केही ठाउँमा कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा रहेको उनको भनाइ छ । कुष्ठरोग निवारणका लागि खोजपड्ताल अभियानलगायत कार्य गरिरहेको निर्देशनालयले जनाएको छ । 

सुझावित समाचार