रोकिएका विज्ञापनको परीक्षा सञ्चालन गर्न कार्यतालिका बनाइने

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

सर्वाेच्च अदालतले थारू क्लस्टरको मुद्दामा परमादेश जारी गरेसँगै लोकसेवा आयोगले यसअघि रोकिएका विज्ञापनको प्रक्रिया अगाडि बढाउने भएको छ ।

सर्वाेच्चले थारुसहितका नयाँ क्लस्टर समावेश गरी ९ महिनाभित्र निजामती सेवा ऐन जारी गर्न र हाल रोकिएका विज्ञापनको प्रक्रियाअगाडि बढाउन परमादेश जारी गरेको भोलिपल्ट बुधबार आयोगका पदाधिकारी, सचिव र महाशाखा प्रमुखबीच छलफल भएको थियो ।

छलफलमा थारू क्लस्टरका कारण यसअघि रोकिएका निजामती सेवासँगै सुरक्षा निकाय र संगठित संस्थाका विज्ञापनको परीक्षाका लागि नयाँ कार्यतालिका बनाउने समझदारी बनेको छ । 

आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार निजामतीतर्फ रोकिएका परीक्षा आगामी तीन महिनाभित्र र संगठित संस्थाका परीक्षा ६ महिनाभित्र सक्नेगरी कार्यतालिका बन्न सक्छ । 

‘निजामतीका परीक्षा धेरै रोकिएका छैनन् चाँडै परीक्षा सञ्चालन गर्न सकिने देखिन्छ,’ उनले भने, ‘तर सुरक्षा निकायसहित अन्य क्षेत्रका थुप्रै विज्ञापन रोकिएका छन् ।’

यद्यपि, यसबारे आयोगले मुख्यसचिव शंकरदास बैरागी र कानुनसचिव धनराज ज्ञवालीसँग पनि छलफल गर्नेछ ।

थारूलाई आरक्षण छुट्याउन माग गर्दै थारू कल्याणकारिणाी सभाबाट धमाधम रिट दायर हुँदा संघमा मात्र पाँच हजार आठ सय ४६ पदका परीक्षा रोकिका थिए । त्यसबाहेक प्रदेशमा पनि परीक्षा रोकिएका थिए ।

तर, सर्वाेच्चले परीक्षा सञ्चालनको प्रक्रिया अगाडि बढाउन आदेश दिएसँगै अब निजामतीतर्फ शाखा अधिकृत, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक)  र स्वास्थ्य सेवाका पाँचौँ तहको परीक्षा सञ्चानलनको बाटो खुलेको छ ।

त्यस्तै, सशस्त्र प्रहरीतर्फ चिकित्सक र स्टाफ नर्स,  सशस्त्र प्रहरीमै निरीक्षक र सहायक निरीक्षक, नेपाली सेनामा अधिकृत क्याडेट र सैन्यको परीक्षा पनि रोकिएका थिए ।

नेपाल विद्युत् प्राधिकरणको तीनदेखि दशौँ तहसम्म,  खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहायक चौथोदेखि दशौँ तहसम्म,  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत निकायको विज्ञापनका परीक्षा पनि रोकिएका थिए।

सुझावित समाचार