‘फेन्सी’ले लुटेका मौलिक सिर्जना

बिक्न छोडे हातका दुःख

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

७२ वर्षीय वीरबहादुर रावल सानै उमेरबाट ऊनको काम गर्थे। उनी जुम्ला सिँजा गाउँपालिका– १ का हुन्। ३० वर्षदेखि रुरुको माघी मेलामा राडीपाखी र कम्बल बोकेर आउँछन्। 

गाडीको सुविधा नहुँदा रावल २२ दिनमा हिँडेर रिडी आउँथे। त्यसवेला बैंस थियो। हिँडेरै पनि ऊनका सामग्री चरप्प बोकेर आउँथे। न्यानो कपडाको बगरमा खोसाखोस हुन्थ्यो। अहिले बगरमा दिनभर चिच्याउँदा दिनमा एक सेट राडीपाखी बिक्दैन। 

धेरैले नजिक आएर सामान छोप्छन्, उचाल्छन्। तर, मूल्य सोधेपछि निकै कमले मात्रै सामान किन्छन्। त्यसवेला हिउँ पन्छ्याउँदै दिन र रात हिँडेर रुरु आउँदा पनि व्यापारले मन खुसी हुन्थ्यो। रावलका अनुसार त्यसवेला हस्तकलाकै सामग्रीले बगर भरिन्थ्यो। 

मान्छेले फेन्सीभन्दा हातबाटै बनाइएका सामग्री खरिद गर्थे। बाबुले किनेको कम्बलले छोराको पनि जाडो छेक्थ्यो। अहिले फेन्सी बजारले जुम्ली र रुकुमेलीले ऊनबाट निर्माण गरेका सामग्रीहरू विस्थापित गरिरहेको छ। 

‘एक जुगलाई हुने ऊनको कम्बललाई धेरैले महँगो भने। सस्तो दुई वर्ष नहुने फेन्सी ब्लाङकेटले बजार पायो,’ रावलले भने, ‘हातको दुःख कसैले हेर्दैनन्।’

जुम्ला कनकासुन्दरी गाउँपालिका– ८ का ५४ वर्षीय पन्नाप्रसाद भट्ट प्रत्येक वर्ष माघी मेलामा रुरु आउँछन्। उनको रुरुसँग पुरानो सम्बन्ध छ। 

किनकि १० वर्षे सशस्त्र द्वन्द्वभन्दा पहिलेबाट रुरुधाममा व्यापार गर्न आए। पहिले बगर व्यवस्थित थिएन। नजिकै बग्ने रिडी नदीकै छेउमा बसेर हजारौँका राडीपाखी र कम्बल बेच्थे । मेलाको दर्शन ऊनको व्यापार। त्यसवेला भारत र चाइनाका कुनै सामग्री मेलामा हुन्थेनन्। 

जुम्लीहरूका ऊनका सामग्रीको खोसाखोस हुन्थ्यो। अहिले फेन्सीले ऊनको व्यापार छैन। त्यसैमा आयोजकले बगर हातले नापेर पैसा माग्न थालेपछि मन भाँचिएर आएको भट्टले गुनासो गरे। उनले रुरुको माटोसँग आफूहरू व्यापारीसँगै भावनात्मक सम्बन्ध भएकाले आयोजकले ध्यान दिनुपर्ने बताए। 

सोही गाउँका ६२ वर्षीय मानसिंह कार्कीले बजारसहित बगरबाट समेत आफूहरू उपेक्षित भएको गुनासो गरे। आफूहरूको हातको सीप फेन्सी बजारको च्यापुवामा परे पनि रुरुमेलाको व्यापारिक आकर्षण बनाएका जुम्लीहरूलाई स्थानीयले हेला गरेको आरोप लगाए। आयोजकले आफूहरूलाई २५ सय रुपैयाँ लिएको कार्कीले बताए। 

सीप बिक्दैनन्, युवा टिक्दैनन्

जुम्ला कनकासुन्दरी गाउँपालिका– ७ का ६१ वर्षीय गोरबहादुर कार्की २५ वर्षदेखि ऊनबाट बनेका राडीपाखी, काम्लो, स्विटर, च्यादर, कम्बललगायतका सामग्री बोकेर रुरु मेलामा आउँछन्। 

यो उनीहरूको पुर्ख्याैली र मुख्य आम्दानी हुने पेसा हो। प्रत्येक घरमा ऊनका सामग्री बन्छन्। जुम्लासहित हुम्ला र मुगुबाट ऊन खरिद गरेर सामग्री बनाउनुपर्छ।

हातको काम भएकाले एक सेट राडीपाखी बनाउन हप्ता दिन लाग्ने भएकाले दुःख र मूल्य बढी पर्छ। त्यसैले पछिल्लो पुस्ताले नयाँ र सस्तो बजारमा आँखा लगाउँछन्। जुम्लामै पनि नयाँ पुस्ताले ऊनको सीप सिक्न छोडे। गोरबहादुर कार्कीले सानैबाट बाजेको सीप सिकेका थिए। 

जसका कारण १३ वर्षदेखि ६१ वर्षसम्म ऊनकै काम गरेर परिवार पाले। तर, यो सीप कार्कीका छोराहरूले पनि सिकेनन्। जेठो छोरा जरसिंह कार्की हुलाकमा काम गर्छन्। कान्छो छोरा दानसिहं गाउँपालिकाको सूचना प्रविधि अधिकृत छन्। 

‘सडक पुगेपछि जुम्लीहरूले पनि रोजगारीका विकल्प खोज्न थाले। ऊनको काममा बढी दुःख हुन्छ,’ कार्कीले भने, ‘नयाँ पुस्ता निकै कमले ऊनको काम गर्छन्।’

दु:ख मात्रै बेसाउँछन् रुकुमेली महिला

रुकुम पुथाउत्तरगंगा गाउँपालिका– ११ की १८ वर्षीय अनुजा बुढा मगरसहितका ३० जना गाउँले ऊनका सामग्री र ओखरको घाँजी बोकेर रुरुको माघी मेला आए। 

रुकुममा धेरै परिवारले भेडा–च्याङ्ग्रा पाल्छन्। पुरुषहरूले ऊनबाट राडीपाखी, कम्बल, काम्लोलगायतका सामग्री बनाउने र महिलाहरू मेला–महोत्सवमा बिक्री गर्न हिँड्ने चलन रहेको अनुजाले बताइन्। 

उनले हातले बनाउँदा फिनिसिङ नहुने र पछिल्लो समय मेसिनबाट पनि ऊनका सामग्री बनाउन थालिएकाले आफूहरूको दुःख खेर गइरहेको गुनासो गरिन्। रुकुम पूर्वको भूमे गाउँपालिका– २ की ४९ वर्षीया राधा घर्ती रुरुको माघीमेलामा ओखरको घाँजी व्यापार गर्न बसेकी छिन्। 

उनीसहितका तीनजनाले महिना दिन लगाएर २०–२५ किलो घाँजी संकलन गरे। प्रत्येक वर्ष घाँजीको व्यापार गर्न रुकुम पूर्वका २०-२५ जना महिला रुरुधाम आउँछन्। घाँजी खाँदा मिठो भए पनि संकलन गर्न दुःख छ। बेच्न महँगो पर्छ। 

ठूला रूखमा चढेर टिप्ने र ढुंगाले फोरेर घाँजी निकाल्ने हो। ‘ठूला ओखरका रूखमा चढ्नै मुस्किल छ। टिपेपछि ढुंगाले फोरेर घाँजी निकाल्दा हात पनि फोरिन्छन्,’ उनले भनिन्, ‘पहिलेजस्ताे बिक्नै छाडेकाले खर्च पनि उठ्दैन्।’

घाँजी बजारमा किलोको एक हजार पर्छ। आठ-दश किलो बिक्री भए तीनजनाको गाडी र खाना खर्च उठ्ने घर्तीले बताइन्। 

बाँसको पनि छैन बजार 

बाग्लुङ बडिगाड गाउँपालिका– ४ जलजलाका ४४ वर्षीय खगेन्द्र विश्वकर्माले बाँसबाट एक दर्जन सामग्री हातले नै बनाउँछन्। 

तिनै सामग्री बिक्री गर्न मेला–महोत्सव चर्हाछन्। तर, खर्च पनि उठ्दैन्। जलजला गाउँका प्रायले बाँसको काम गर्छन्। उनीसँग साढे तीन सयदेखि १२ सय पर्नेसम्मका सामग्री छन्।
 
पुर्ख्याैली पेसा भएकाले विश्वकर्माले १३ वर्षदेखि बाँसका सामग्री बनाउने काम गर्थे। सोही गाउँमा २७ वर्षीय युवा खिम छन्त्याल पनि निगालोबाट एक दर्जनभन्दा बढी सामग्री बनाउँछन्। 

उनले घरायसी प्रयोजनका लागि आवश्यक डालो, सुपो, मान्द्रो, काइँयो, भकारी, फुल, पेनदानीलगायतका थुप्रै सामग्री बनाउँछन्। यी सामग्री कच्चा पदार्थ र हातको परिश्रमअनुसार महँगो पर्छन्। बजार प्लास्टिकका सामग्रीले छोपेको छ। 

केही वर्ष पहिलेसम्म रुरु, शान्तिपुर, बाग्लुङ बजारसहितका मेलामा तीन लाखको कमाइ गर्थे। अहिले जहाँ गए पनि ५० हजारको पनि सामग्री बिक्री नभएको छन्त्यालले गुनासो गरे। 

तस्बिर : टाेपलाल अर्याल/नयाँ पत्रिका 

सुझावित समाचार