सहरी विकासमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कालिका कन्स्ट्रक्सनले ठेक्का लिएका निर्माण आयोजना अलपत्र
कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे यतिवेला सहरी विकासमन्त्री छन् । तर, उनकै कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएका विकास आयोजना अलपत्र परेका छन् । धनगढीको मुख्य बजारस्थित चौराहा–कैलाली पुलखण्ड त्यसैको एउटा उदाहरण हो ।
सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा यो खण्डमा सडक निर्माणको काम सुरु हुन सकेको छैन । सम्झौताको करिब दुई वर्ष र थपिएको पाँच महिनाको अवधि गत महिना सकिएको छ, तर निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले यो खण्ड निर्माणको सुरसारसमेत गरेको छैन । कालिका कन्स्ट्रक्सनले चौराहा–कैलाली पुलखण्डसँगै धनगढीमा ठेक्का लिएका अन्य ६ वटा सडकको काम पनि निकै सुस्त छ ।
कालिकाले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा लागू भएको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरभित्र नालीसहितको १०.२५ किलोमिटर अत्याधुनिक सडक निर्माणको ठेक्का पाएको छ । तर, सम्झौता भएको साढे दुई वर्ष बित्दा २.३९ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । मुख्य बजार क्षेत्रको डेढ किलोमिटर खण्डमा काम नै सुरु भएको छैन भने अन्य ६ वटा खण्डको काम पनि निकै सुस्त छ । उसले ठेक्का लिएकोमध्ये धनगढीको डिभोटी–हसनपुरखण्ड मात्र कालोपत्रे पूरा भएको छ ।
सातवटा खण्डको १०.२५ किलोमिटर सडक कालोपत्रे गर्न ७६ करोड ९० लाख ७६ हजार रुपैयाँ लागतमा २८ असार ०७७ मा कालिकासँग सम्झौता भएको थियो । सम्झौता अवधि गत साउनमा सकिएर थपिएको पाँच महिनासमेत सकिएको छ । तर, निर्माणाधीन खण्डमा पनि कामले तीव्रता पाएको छैन । बजारसँग जोडिएका ६ वटा सडक लामो समयदेखि निर्माणाधीन अवस्थामा रहँदा स्थानीयले सास्ती व्यहोरिरहेका छन् । दुई वर्षयता सडक र नाली निर्माणको काम जारी रहँदा हिलो र धुलोले सास्ती हुने गरेको छ ।
‘कालोपत्रे सडक भत्काएर लामो समयसम्म ग्राभेल नगर्दा निकै सास्ती खेप्नुपर्यो । अहिले ग्राभेल गरिएको छ, तर धुलोले हिँडिनसक्नु हुन्छ,’ धनगढी– ५ का स्थानीय भोजराज अवस्थीले भने, ‘समयमै काम नगर्दा हामीले सास्ती खेप्नु परिरहेको छ ।’ आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी– ५ पिपलचौता–लभ्ली चोकखण्ड लामो समयदेखि अलपत्र थियो ।
क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर शौरभ कलौनीले सुरुको सम्झौताअनुसार गत साउनमा सबै सडक सम्पन्न हुनुपर्नेमा हालसम्मको भौतिक प्रगति ५८ प्रतिशत मात्र रहेको बताए । मुख्य बजार क्षेत्रको चौराहा–कैलाली पुलखण्डमा खानेपानीको पाइप र विद्युत्को पोल सार्ने कामसमेत सुरु भएको छैन । यी काम पनि सडकभित्रकै ठेक्कामा पर्छन् । सूचना अधिकारी कलौनीले आयोजनाको परामर्शदाता कम्पनीले ६ महिना म्याद थपको सिफारिस गरेको जानकारी दिए ।
गोदावरीमा पनि उस्तै अवस्था
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत नै कालिका कन्स्ट्रक्सनले कैलालीको गोदावरी नगरपालिकामा साढे १६ किलोमिटर सडक कालोपत्रे गर्दै छ । दुई वर्षको सम्झौता अवधिअनुसार गत साउनमै गोदावरीमा १६ किलोमिटर सडक कालोपत्रे गरिसक्नुपर्ने हो, तर हालसम्म १०.८३ किलोमिटर मात्र कालोपत्रे भएको सूचना अधिकारी कलौनीले बताए । गोदावरीमा पनि करिब ६ महिना म्याद थपको सिफारिस भएको उनले बताए ।
धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन सडकको काम निकै सुस्त रहेको बताए । इन्जिनियर भट्टका अनुसार ६ महिना म्याद थप गर्न दातृ निकाय तयार छ । तर, मुख्य बजार क्षेत्रको डेढ किलोमिटर सडक थपिएको अवधिमा पनि पूरा हुन नसक्ने उनले बताए । ‘नाली निर्माणसँगै खानेपानीको पाइप, पोल सार्नुपर्ने भएकाले चौराहादेखि कैलाली पुलसम्मको डेढ किलोमिटर सडक ५–६ महिनाभित्र पूरा हुन सक्दैन,’ उनले भने ।