सात वर्षदेखि बार्जुगाडमा पुल निर्माण अलपत्र

सोमबार, २३ माघ, २०७९
डिजिटल संस्करण

बाजुराको बुढीगंगा नगरपालिकाअन्तर्गत बेतालमाडाैं डेल्टा सडक खण्डमा पर्ने बार्जुगाड नदीमा पुल निर्माण कार्य अलपत्र परेको छ । सात वर्षदेखि उक्त पुल निर्माण अलपत्र पर्दा स्थानीयवासी सास्ती व्यहोर्न बाध्य छन् ।

खप्तड छेडेदह गाउँपालिका– ३ र बुढीगंगा नगरपालिका– ४ को बीचमा रहेको बार्जुगाड नदीमा सात वर्षदेखि सो पुल अलपत्र छ । तत्कालीन जिल्ला विकास समितिले ०७३ सालमा दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । दुई करोड २९ लाखमा ठेक्का भएको पुल सात वर्ष बित्न लाग्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । अछामको साउद एडभेन्चर जेभीले पुलको ठेक्का पाएको थियो ।

कम्पनीले ०७५ सालमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदारले समयमा काम गर्न नसकेपछि उक्त पुल निर्माणको जिम्मा सडक पूर्वाधार विकास कार्यालय अछामले लिएको छ । पूर्वाधार कार्यालयले जिम्मा लिए पनि पुलको निर्माण कार्य अलपत्र अवस्थामै छ । तत्कालीन जिल्ला विकास समिति निक्रिय भएसँगै सडक पूर्वाधार विकास कार्यालयले काम गर्ने जिम्मा पाएको थियो । काम गर्ने जिम्मा लिए पनि अहिलेसम्म काम सम्पन गराउन नसकेको स्थानीय रनि चदाराले बताए । 

पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्र बोगटीले भने यो आर्थिक वर्षको असारसम्म पुल निर्माण गरिसक्ने बताए । उनले भने, ‘विगतमा कोभिड, ठेकेदारको कमजोरीलगायत अन्य कारणले काम हुन नसकेको हो । यो आर्थिक वर्ष काम सम्पन्न गरेर गाडि गुड्ने बनाइसक्छौँ ।’ कार्यालयका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्म सम्झौताको म्याद छ ।

तर, निर्माणको जिम्मा पाएको साउद एडभेन्चर जेभीका सहसञ्चालक रमेश साउद भने यस वर्ष निर्माण नसकिने बताउँछन् । उक्त कम्पनीले पुल निर्माण कार्य चितवनको नारायणघाटस्थित कम्पनीलाई जिम्मा दिएको छ । उक्त कम्पनीले निर्माण गर्न ढिलाइ गरेकोले यस वर्षभित्र निर्माण सम्पन्न गर्न नसकिने साउदको भनाइ छ । उनले भने, ‘सुरुका दुई वर्ष जिल्ला विकास समितिले बाटो दिन सकेन । त्यसपछि पूर्वाधार विकास कार्यालयले स्टिमेट डिजाइन ढिलो गर्याे ।’ त्यसपछिको एक वर्ष कोभिडका कारणले काम गर्न नसकेको साउदले बताए । 

यो सडक सदरमुकाम मार्तडी जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको छ । पुल नबन्दा खप्तड छेडेदह गाउँपालिकाबाट बुढीगंगा नगरपालिकामा रहेको विद्यालय जान निकै कष्ट व्यहोर्नुपरेको छ ।

खप्तड छेडेदह– ३ का जनक खड्का बुढीगंगा नगरपालिकामा रहेको भानुदय उच्च माध्यमिक विद्यालयमा पढ्छन् । गाउँको विद्यालयमा १० कक्षासम्म मात्र पढाइ हुने भएकाले उनीलगायतका विद्यार्थीहरू कक्षा ११ र १२ अध्ययनका लागि बुढीगंगा नगरपालिका पुग्छन् । तर, पुल नबन्दा बर्खाको समयमा आफूहरू विद्यालय नै जान नसक्ने खड्काले गुनासो गरे ।

बार्जुगाड नदीमा पुल निर्माण कार्य नसकिँदा बिरामीलाई स्वास्थ्य चौकी लैजानसमेत समस्या पर्ने गरेको छ । पुल नबन्दा सवारीसाधन सञ्चालन गर्न निकै कठिन भएकाले गर्भवती तथा बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता रहेको खप्तड छेडेदह– ३ का ६५ वर्षीय रनि मिजारले बताए ।

यता प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भने समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई तुरुन्त कानुनी कारबाहीको दायरामा ल्याउने बताए । आफू भर्खर प्रमुख जिल्ला अधिकारी भएर यहाँ आएको हुँदा यस विषयमा जानकारी नभएको भन्दै उनले जानकारीमा आएपछि ठेकेदारलाई बोलाएर समयमै निर्माण गर्न लगाउने बताए ।

सुझावित समाचार