नेपोलीले स्पेजियालाई ३–० ले हराउँदै इटालियन सिरी एमा १६ अंकको अग्रता लिएको छ । आइतबार प्राप्त जितसँगै नेपोलीले सिरी एको उपाधि जित्ने सम्भावना झनै बढाएको छ । २१ खेलबाट नेपोलीले ५६ अंक बनाएको छ । नेपोलीले दुई खेल बराबरी र एक खेलमा हार सामना गरेको छ । दोस्रो स्थानमा रहेको इन्टरमिलानले २० खेलबाट ४० अंक बनाएको छ । स्पेजिया १८ अंकसहित रेलिगेसन क्षेत्रबाट माथि छ ।
नेपोलीले अहिलेसम्म दुईपटक सिरी एको उपाधि जितेको छ । यसअघि टोलीले सन् १९८९–९० मा अन्तिमपटक सिरी ए उपाधि हात पारेको थियो । नेपोली ३३ वर्षपछि उपाधि जित्ने दाउमा छ । स्पेजियामा भएको खेलमा नेपोलीलाई जित दिलाउन भिक्टोर ओसिम्हेनले दुई गोल तथा भिचा भारातखेरियाले एक गोल गरेका थिए । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । नेपोलीले मध्यान्तरपछि गोलको खडेरी तोडेको थियो । घरेलु मैदानमा शीर्ष स्थानको नेपोलीलाई रोक्ने दाउमा स्पेजिया सफल भएन ।
खेलको ४७औँ मिनेटमा भारातखेरियाले पेनाल्टीमा नेपोलीलाई १–० अग्रता दिलाए । स्पेजियाका रक्षक माटिया काल्डाराले बक्सभित्र ह्यान्ड गरेपछि नेपोलीले पेनाल्टी अवसर पाएको थियो । डिफेन्सको गल्तीको फाइदा उठाउँदै नाइजेरियन स्ट्राइकर ओसिम्हेनले ६८औँ मिनेटमा नेपोलीलाई २–० को स्थितिमा राखे । खेलको ७३औँ मिनेटमा ओसिम्हेनले ३–० को अग्रताका लागि गोल गरे । जितपछि स्ट्राइकर ओसिम्हेनले सबै खेल उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।
रियल म्याड्रिड हार्यो
स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता रियल म्याड्रिड मालोर्कासँग १–० ले स्तब्ध भएको छ । भ्रमणकारी टोली म्याड्रिड पाएको पेनाल्टी अवसर गुमाउँदा हार टार्न सफल भएन । म्याड्रिड उल्टै आत्मघाती गोलको सिकार बन्यो । हारसँगै म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको छ । बार्सिलोनाको १९ खेलबाट ५० अंक छ । एक खेल बढी खेलेको म्याड्रिड ४५ अंकका साथ दोस्रो स्थानमा छ । जितपछि मालोर्का २८ अंकसहित दशौँ स्थानमा यथावत् छ । कप्तान करिम बेन्जिमाविना मैदानमा उत्रिएको म्याड्रिड फिनिसिङमा चुकेको थियो ।
अग्रपंक्तिको जिम्मेवारी पाएका भिनिसियस जुनियर, रोड्रिगो र मार्काेस एसेन्सियो गोलविहीन रहे । खेलको १३औँ मिनेटमा मालोर्काले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । नाचोले आफ्नै पोस्टमा गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको म्याड्रिडले दोस्रो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । असेन्सियोले खेलको ६०औँ मिनेटमा पाएको पेनाल्टी चुकाए ।