नेपाललाई गन्तव्य राष्ट्रको सूचीमा समावेश गर्न चिनियाँ राजदूतावासलाई होटेल संघ पोखराले आग्रह गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनियाँ राजदूत छन सोङलाई एक पत्र लेख्दै आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समेत समावेश गर्न आग्रह गरेका हुन् ।
गत ६ माघमा चीनले आफ्ना नागरिकका लागि गन्तव्य राष्ट्रको सूची सार्वजनिक गरेको थियो । सो सूचीमा नेपाललाई समेत समावेश गर्न आग्रह गर्दै होटेल संघ पोखरा नेपालले काठमाडौंस्थित चिनियाँ राजदूतावासलाई एक आग्रहपत्र बुझाएको हो ।
कोभिड–१९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रूपमा लिएको भन्दै सुवेदीले सन् २०२३ मा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपालका पर्यटन व्यवसायी तयार र आशावादी भएको बताए । तर, चीनका तर्फबाट सार्वजनिक गरिएको २० गन्तव्य देशको सूचीमा नेपाल नपर्दा संघ निराश भएको पत्रमा उल्लेख छ ।
कोभिडसँगै भ्रमण स्थगनको करिब तीन वर्षको अन्तरालपछि चीनले सार्वजनिक गरेको सूचीअनुसारको व्यवस्था आगामी सोमबारबाट लागू हुँदै छ । दूतावासलाई लेखिएको पत्रमा सार्वजनिक गरिएको देशहरूको सूचीलाई पुनः विचार गरी नेपाललाई पनि त्यसमा समावेश गर्न आग्रह गरिएको छ । उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड–१९ बाट थला परेको नेपाली पर्यटनलाई पुनरुत्थान गर्न र दुई देशबीचको सदीयौँदेखिको सम्बन्ध थप प्रगाढ बन्न मद्दत पुग्ने विश्वास पत्रमार्फत व्यक्त गरिएको छ ।
घुम्नका लागि नेपाल प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक तथा ऐतिहासिक रूपमा धनी रहेको स्मरण गराउँदै यहाँको हावापानी पनि चिनियाँ पर्यटकका लागि उपयुक्त रहेको पत्रमा बताइएको छ । चिनियाँ पर्यटक विगतमा नेपाल आउँदा पोखराको प्याग्लाइडिङ निकै मन पराउने गरेको र पदयात्रा र हिमाल आरोहणजस्ता गतिविधिमा पनि उनीहरू सरिक हुने गरेको उल्लेख पनि गरिएको छ ।
पोखरामा चिनियाँ पर्यटकका लागि आवश्यक पर्ने सबै प्रकारका पर्यटकीय सुविधा उपलब्ध रहेको र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले चीनकै एक्जिम बैंकको ऋण सहयोगमा निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत १ जनवरी २०२३ मा उद्घाटन गरिएको विषयसमेत स्मरण गराइएको छ ।