राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले खोज्यो विपक्षी गठबन्धनको साथ, उम्मेदवारबारे थप छलफल गरेर टुंगो लगाइने

आइतबार, २२ माघ, २०७९
डिजिटल संस्करण

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा संसद्मा प्रतिपक्षी भूमिकामा रहेका दलहरूको साथ खोजेको छ । शनिबार बसेको विपक्षी गठबन्धनको बैठकमा यो विषयमा टुंगो नलागेपछि आइतबार थप छलफल गरेर टुंगो लगाउन लागिएको हो । समझदारीकै आधारमा साझा उम्मेदवार उठाउने कांग्रेसको तयारी छ ।

रमेश लेखक मुख्य सचेतक, कांग्रेस 

राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारीका विषयमा दलहरूसँग एकसरो छलफल भयो । टुंगोमा पुगेका छैनौँ । थप छलफल गरेर निष्कर्षमा पुग्नेछौँ । आइतबार पार्टीको बैठक बस्छ र अरू दलहरूसँग छलफल गरेर टुंगोमा पुग्छौँ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार कांग्रेस, एकीकृत समाजवादी र लोसपाबीच छलफल भएको थियो । कांग्रेस मुख्य सचेतक रमेश लेखकका अनुसार बैठकमा उम्मेदवारीबारे सामान्य छलफल भएको थियो । उनले आइतबार थप छलफलबाट उम्मेदवारको विषय टुंगो लाग्ने बताए । ‘राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारीका विषयमा दलहरूसँग एकसरो छलफल भयो । टुंगोमा पुगेका छैनौँ । थप छलफल गरेर निष्कर्षमा पुग्नेछौँ,’ लेखकले भने, ‘आइतबार पार्टीको बैठक बस्छ र अरू दलहरूसँग छलफल गरेर टुंगोमा पुग्छौँ ।’ 

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बैठकमा निर्वाचनबारे सामान्य छलफल भएको बताए । उनले आइतबार थप छलफलबाट उम्मेदवारको टुंगो लाग्ने बताए । ‘सामान्य छलफल भयो । थप छलफल गरेर टुंगोमा पुग्छौँ,’ उनले भने । स्रोतका अनुसार कांग्रेसले उम्मेदवारका रूपमा कमला पन्तलाई अघि सार्ने तयारी गरेको छ । 

कांग्रेसले विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार उठाउने बैठकमा प्रस्ताव गरेको थियो । यस विषयमा अरू दलसमेत सकारात्मक रहेको एक नेताले जानकारी दिए । ‘कांग्रेसले विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार प्रस्ताव गर्ने र यसमा सघाउन आग्रह गर्‍यो । अरू दलले आफ्नोतर्फबाट उम्मेदवार अघि सार्ने अवस्था नरहेकाले सकारात्मक रहेको बताउनुभयो । थप छलफल गरेर साझा उम्मेदवार उठाउने र राष्ट्रिय सभामा रिक्त एक पदको निर्वाचन र राष्ट्रपति निर्वाचनमा पनि मिलेर जानुपर्छ भन्नेबारे छलफल भयो,’ ती नेताले भने ।शनिबारको बैठकमा जनमोर्चा भने सहभागी भएको थिएन । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफूलाई बैठकबारे कुनै जानकारी नगराइएको बताए । ‘बैठकबारे हामीलाई जानकारी नै थिएन । हाम्रो भूमिका के हुन्छ भन्ने पछि नै थाहा हुन्छ,’ उनले भने । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए । 

राष्ट्रिय सभामा एमालेका १६, माओवादी १५, कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, लोसपा र जनमोर्चा एक–एक, स्वतन्त्र एक, मनोनीत तीनजना सदस्य छन् । एक सिट रिक्त छ । राष्ट्रिय सभा उपाध्यक्षको आइतबार मनोनयन र सोमबार निर्वाचनको कार्यतालिका छ । कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो नेतृत्वमा संसद्मा प्रतिपक्षी भूमिकामा रहेका दलहरूको गठबन्धन बनाउने तयारी गरिरहेको छ । 

सुझावित समाचार