नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न ई–कमर्स तालिम दिएको छ । महासंघले साना उद्यमीलाई इन्टरनेटका माध्यमबाट आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने सीपको क्षमता अभिवृद्धि गराउन स्विस सरकार विकास सहयोग (एसडिसी) र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (युएनसिडिएफ)को आर्थिक सहयोगमा तालिम दिएको हो ।
महासंघका प्रदेश १ अध्यक्ष टीकाराज ढकालले साना उद्यमीहरूले वर्षौंदेखि चलाइरहेका उद्यमबाट उत्पादित वस्तु तथा सेवालाई नयाँ उपभोक्तामाझ पु¥याउन तालिम प्रभावकारी रहेको बताए । उत्पादनको परम्परागत रूपमा गरिने बजारीकरणलाई प्रविधि र ज्ञानको प्रयोग गरेर अझ धेरै उपभोक्तासम्म पुर्याउन ई–कमर्स प्रविधि आजको आवश्यकता भएकाले तालिम आयोजना गरेको उनको भनाइ थियो ।
संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषका सरोज नेपालले ग्रामीण क्षेत्रमा पनि मोबाइललगायतका डिजिटल प्रविधिको प्रयोग बढेका कारण नेपालमा ई–कमर्सको क्षेत्र बढेकाले उद्यमीहरूले पनि समयानुकूल हुनुपर्नेमा जोड दिए । नेपालले भने, ‘ई–कमर्सको क्षेत्र बढेका कारण नेपालमा यसका लागि नीति पनि बन्दै गएकाले अब हरेक व्यवसायमा यसको प्रभावकारिता बढ्दो छ । त्यसैले साना र मझौला उद्यमीहरूले पनि आफूलाई अपडेट गर्न आवश्यक छ ।’
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले उद्यमी–व्यवसायीबीच एकअर्काको व्यवसायबारे जानकारी प्राप्त गर्ने अवसरका रूपमा पनि तालिम फलदायी भएको बताए ।
नेपालमा मोबाइल, आइप्याड, ल्यापटप र अन्य प्रकारका कम्प्युटरजन्य विद्युतीय उपकरणको प्रयोग बढेका कारण ई–कमर्सको अभ्यास पनि बढ्दै गएको छ । त्यसैले यस्ता उपकरणलाई मनोरञ्जनात्मक सामग्री हेर्ने माध्यमका रूपमा बढी प्रयोग गर्नुभन्दा उद्यमीहरूले आफ्ना उत्पादनको प्रवद्र्धनमा बढी प्रयोग गर्न सके उद्यमशीलता फस्टाउने तालिमकी प्रशिक्षक रिया श्रेष्ठले बताइन् । तालिममा मोरङसहित अन्य जिल्लाका साना तथा लघु र महिला उद्यमीहरू गरी करिब ६० जनाको उपस्थिति रहेको थियो ।