बिहान ड्राई फुड
उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिएपछि सीधै ब्रेकफास्ट गर्दा हुन्छ । वा, फलफूल, ओट्स, चिउरा, दूध खाँदा पनि हुन्छ । घरमै बनाएको रोटी र चिया खान सक्नुहुन्छ । सकेसम्म चिनी नखाँदै राम्रो हुन्छ । ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता ड्राई फुड खाँदा स्वास्थ्यलाई फाइदा गर्छ । यस्ता ड्राई फुडमा प्रोटिनको मात्रा धेरै हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ ।
ब्रेकफास्ट गर्दा तीन–चार सयसम्मको क्यालोरीयुक्त खाना खानुपर्छ । जसले कार्बाेहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सघाउँछ । त्यसैले खाजा वा खानामा प्रोटिन र कार्बाेहाइड्रेटको सन्तुलन मिलाउनुपछ । दाल, गेडागुडी, दूध, अन्डा, माछा, मासु मात्रा मिलाएर खानुपर्छ ।
३ बजे खाजा
लन्च गर्दा दाल–भात–तरकारी खाँदा पनि हुन्छ । हरियो सागपातमा अझ बढी जोड गर्नुपर्छ । सिजनल तरकारी खाँदा राम्रो हुन्छ । गाँजर, काँक्रा, मुला, प्याज मिलाएर खाँदा राम्रो हुन्छ । उसिनेर पकाएको तरकारी खानु झनै राम्रो हुन्छ । खाना खाइसकेपछि दिउँसो करिब ३ बजे खाजा खानु उपयुक्त हुन्छ । दिउँसोको समयमा कार्बाेहाइड्रेट कम र प्रोटिन धेरै भएको खानेकुरा खानुपर्छ । चना, भटमासजस्ता खानेकुरा खाँदा राम्रो हुन्छ ।
बेलुका ढिलो खाना खाँदा के हुन्छ ?
बेलुकाको खाना पनि समयमै खाँदा राम्रो हुन्छ । शारीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसैले बेलुकाको खाना ७ देखि ८ बजेभित्र खाँदा राम्रो हुन्छ । बेलुकीको खानामा तरकारी तथा सागसब्जी समावेश गर्नुपर्छ ।
बेलुका शारीरिक तथा मानसिक रूपमा आराम गर्ने समय भएकाले कम खाँदा राम्रो हुन्छ । सुत्ने समयमा शरीर धेरै सक्रिय नहुने भएकाले धेरै खाँदा पचाउन कठिन हुन्छ । प्रोटिन कम भएको खानेकुरा खानुपर्छ । कतिपयमा खाना खानेबित्तिकै सुत्ने बानी हुन्छ, जो राम्रो होइन । खाना खाएपछि कम्तीमा चार घन्टापछि सुत्दा राम्रो हुन्छ । चार घन्टाभित्र खाना शरीरमा पचिसकेको हुन्छ । खाना खानेबित्तिकै सुत्नु राम्रो होइन । यस्तो बानीले बिहान उठ्दा फ्रेस हुन सकिँदैन । यदि, धूम्रपान, मद्यपानको लत छ भने आजैबाट छाड्नुस् । यसले शरीरलाई राम्रो गर्दैन ।