निवारण घोषणाको १३ वर्षपछि पनि कुष्ठरोगको प्रकोप उस्तै

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण

नेपाल सरकारले सन् २०१० मा कुष्ठरोग निवारण गरेको घोषणा गरे पनि बर्दियालगायत देशभर कुष्ठरोगको जोखिम बढिरहेको छ । निवारण घोषणा गरेको १३ वर्षसम्म पनि कुष्ठरोगीको संख्या बढ्दै गइरहेको छ ।

निवारणको घोषणा गरे पनि नेपालमा गत आर्थिक वर्षमा दुई हजार दुई सय ८५ जना कुष्ठरोगी रहेका थिए । आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्म दुई हजार तीन सय ७३ जना बिरामीले उपचार गराइरहेका छन् ।

कुष्ठरोगीको तथ्यांक हेर्दा नेपालमा सन् २०१० देखि हालसम्म घट्दै जानुपर्नेमा झन् बढ्दै गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार सन् २०१० मा बिरामीको प्रकोप दर ०.७७ प्रति दश हजार रहेको थियो भने २०२३ मा बिरामीको प्रकोप दर ०.८१ प्रति दश हजार रहेको छ । सन् २०१० मा नेपालमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने दर ११.५  प्रतिलाख थियो भने २०२३ मा ७.८१ प्रतिलाख रहेको छ । 

तराईका १५ जिल्ला र पहाडको एक जिल्ला गरी १६ जिल्ला उच्च जोखिममा रहेका छन् । तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, रुपन्देही, परासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुष, सिराहा, मोरङ र  झापा तथा पहाडको अछाममा प्रकोप दर प्रतिहजार एकभन्दा बढी रहेको छ । जसमध्ये बारामा प्रकोपदर प्रतिदश हजार २.०९ र बर्दियामा १.२३ प्रतिदश हजार रहेको छ । मधेस प्रदेशमा १.४३ र लुम्बिनी प्रदेशमा १.१२ प्रतिहजार प्रकोप दर रहेको छ । 

कुष्ठरोगको उच्च जोखिममा रहेको बर्दियामा सबैभन्दा जोखिममा बाँसगढी नगरपालिका रहेको छ । बाँसगढीमा प्रकोपदर २.५७ प्रतिदश हजार रहेको छ भने नयाँ बिरामी पत्ता लाग्ने दर २०.५ प्रतिलाख रहेको छ ।

बर्दियामा गत आर्थिक वर्षमा ६३ नयाँ बिरामी दर्ता भएका छन् । जसमध्ये गुलरियामा सबैभन्दा बढी १५ जना, बाँसगढी र बारबर्दियामा १३–१३ जना राजापुरमा ८ जना, बढैयातालमा ६ जना, गेरुवा र ठाकुरबाबामा ३–३ जना र मधुवन नगरपालिकामा दुईजना नयाँ बिरामी  फेला परेका छन् । तीमध्ये दुईजना १४ वर्षमुनिका बालक रहेका छन् ।

कुष्ठरोग निवारणका लागि जिल्ला स्वास्थ्य कार्यालयले सक्रिय बिरामी खोजपड्ताल कार्यक्रम, कुष्ठरोग रोकथाम कार्यक्रम र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । उनका अनुसार बर्दियामा भारतको सीमावर्ती क्षेत्रबाट उपचार गर्न आउने र उनीहरूको तथ्यांकसमेत समावेश हुने भएको हुनाले तथ्यांक बढी आउने गरेको छ ।

सुझावित समाचार