‘च्याटजिपिटी’ले पास गर्‍यो अमेरिकाको ल स्कुल परीक्षा

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

इन्टरनेटमा मौजुद तथ्यांकद्वारा सञ्चालित एक च्याटबोटले संवैधानिक कानुनदेखि कर एवं सार्वजनिक अपराधसम्मका विषयमा सोधिएका विविध प्रश्नहरूको उत्तर लेखेर एक अमेरिकी कानुन स्कुलको परीक्षा नै उत्तीर्ण गरेको छ । च्याटजिपिटीको कौशल देखेपछि प्राध्यापकहरूले यसले शैक्षिक जगत्मा व्यापक धोकाधडी निम्त्याउन सक्ने र परम्परागत कक्षाशिक्षण विधिहरूलाई असान्दर्भिक बनाइदिन सक्ने आशंका गरेका छन् । 

मिनेस्वटा युनिभर्सिटी ल स्कुलका प्राध्यापक जोनाथन चोईका अनुसार च्याटजिपिटीलाई अन्य विद्यार्थीलाई दिइएकै प्रश्नपत्र दिइएको र त्यसमा ९५ वटा बहुछनोट प्रश्न र अरू १२ वटा निबन्धात्मक प्रश्नावली समावेश थिए । सोमबार सादा कागजमा ‘च्याटजिपिटी गोज टु ल स्कुल’ शीर्षकमा प्रकाशित रिजल्टमा प्राध्यापक चोई र उनका सहकर्मीले च्याटबोटले समग्रमा ‘सी’प्लस अंक प्राप्त गरेको उल्लेख गरेका छन् । यो अंक पास हुन पर्याप्त अंक हो । 

यो च्याटबोटको प्रदर्शन अधिकांश विषयमा औसत रहे पनि गणितसँग सम्बन्धित बहुछनोट प्रश्नहरूमा भने निकै उत्कृष्ट देखिएको थियो । ‘निबन्ध लेखनमा च्याटजिपिटीले आधारभूत कानुनी अवधारणामाथि बलियो समझ प्रदर्शन गर्यो । शब्द संगठन र संरचनामा पनि एकरूपता र कुशलता देखाएको छ,’ प्राध्यापकहरूले लेखेका छन्, ‘तर खुला प्रश्नमा भने समस्या पहिचान गर्न र रचनात्मक उत्तर दिनमा यो कमजोर नै देखिएको छ । यी कौशल नै ल स्कुल परीक्षाहरूमा मुख्य हुन्छन् ।’

न्युयोर्कलगायत अधिकारीहरूले विद्यालयमा च्याटजिपिटीको प्रयोग प्रतिबन्धित गरेका छन् । तर, चोई भने च्याटजिपिटी महत्वपूर्ण शिक्षण सहयोगी हुन सक्ने बताउँछन् । उनी ट्विटरमा लेख्छन्, ‘समग्रमा च्याटजिपिटी कानुनको उत्कृष्ट विद्यार्थी थिएन । तर, हामी आशावादी छौँ, च्याटजिपिटीजस्ता मोडेलको मानिससँगको सहकार्य विद्यार्थी तथा अभ्यासरत वकिलहरूका लागि निकै उपयोगी हुनेछ ।’ 

‘च्याटजिपिटीको उत्तरकापीमा एउटा कमी थियो र त्यो एकदमै उचित थियो । च्याटजिपिटीको व्याकरण एकदमै सही हुनुका साथै केही हदसम्म दोहोरिएको थियो,’ चोईले लेखेका छन् । अमेरिकी प्रविधि कम्पनी ओपनएआईले बनाएको च्याटजिपिटीले यसै हप्ता प्रविधि जायन्ट माइक्रोसफ्टबाट १० अर्ब अमेरिकी डलरको विशाल लगानी प्राप्त गरेको छ । यसले सोधिएका प्रश्नहरूमा कृत्रिम बौद्धिकता (एआई) को सहयोगले इन्टरनेटमा उपलब्ध तथ्यांकहरूको विवेचना गरी तत्कालै लिखित उत्तर दिन्छ । 

सुझावित समाचार