रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १० की खिमकला ओलीका माइती पक्ष आन्दोलित भएका छन् । खिमकलाको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका उनका श्रीमान् दीपक खड्का साधारण तारेखमा रिहा भएपछि खिमकलाका माइती पक्ष आन्दोलनमा उत्रिएका हुन् ।
खिमकलाले आत्महत्या गरेको नभई उनका श्रीमानले हत्या गरेको माइती पक्षको आरोप छ । सानीभेरी– १० घन्ठानामा विवाह गरेकी १८ वर्षीया खिमकला गत पुस ९ गते राति घरनजिकैको गहुँबारीमा मृत फेला परेकी थिइन् । श्रीमतीले झुन्डिएर आत्महत्या गरेको बयान दिएपछि प्रहरीले श्रीमान् दीपकलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेको थियो ।
उनलाई रुकुम अदालतले गत पुस २९ गते साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । आफूहरूले घटनाको अनुसन्धान सकाएर मुद्दा अदालतमा बुझाएको र अदालतले दीपकलाई साधारण तारेखमा छाड्न आदेश दिएको श्रेष्ठको भनाइ छ । आरोपित साधारण तारेखमा छुटे पनि मुद्दाको फैसला भने नभएको उनले प्रस्ट पारेका छन् ।
अनुसन्धानमा प्रहरीले असहयोग गरेको पीडित पक्षको आरोप
माइती पक्षले भने घटनाको अनुसन्धानमा प्रहरीले असहयोग गरेको आरोप लगाएका छन् । कर्तव्य ज्यानको मुद्दामा किटानी जाहेरी दिँदा पनि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको खिमकलाका दाइ कविराम ओलीले बताए ।
यसअघि पनि श्रीमान् दीपकबाट खिमकलामाथि पटकपटक कुटपिट भएको, घटना भएको एक दिनअघि पनि खिमकला श्रीमानबाट कुटपिटमा परेको भन्दै माइतीमा आएको, माइती पक्षले सम्झाएर पठाएको, शव गहुँबारीमा घोप्टो अवस्थामा फेला परेको, शरीरका विभिन्न अंगमा घाउ रहेको र घटनास्थलको अवस्थालगायतलाई हेर्दा आत्महत्या नभई हत्या भएको कविरामले दाबी गरे ।
दीपक रिहा भएपछि खिमकलाका माइती पक्षले सोमबारदेखि आन्दोलन सुरु गरेका हुन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै सोमबार वडा कार्यालयमा धर्ना दिएका थिए । पीडित पक्षले मंगलबार सानीभेरी गाउँपालिकामा धर्ना दिँदै छन् भने आजै जिल्ला प्रशासन कार्यालयमा समेत पुग्ने कविरामले बताए ।
न्याय नपाउँदासम्म आन्दोलन नरोकिने पीडित पक्षले चेतावनी दिएको छ । प्रहरीले भने कानुनबमोजिम अनुसन्धान गरी मुद्दा अदालतलाई बुझाएको बताउँदै माइती पक्षको आरोपमा सत्यता नरहेको जनाएको छ ।