चालू आर्थिक वर्ष ०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व संकलन लक्ष्यभन्दा निकै कम देखिएको छ।
पुस मसान्तसम्म रु छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रु चार खर्ब ९० अर्ब चार करोड ३८ लाखबराबर मात्रै असुली भएको अर्थ मन्त्रालयले जनाएको छ।
यो अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशतबराबर हो। अर्थात् चालू आवको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व संकलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत बिन्दुले न्यून देखिएको छ।
यो अवधिमा भन्सार राजस्व संकलन सबैभन्दा बढी प्रभावित भएको देखिन्छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार भन्सार राजस्व संकलन पुस मसान्तसम्मको लक्ष्यको ५३ प्रतिशतबराबर मात्रै छ।
६ महिना अवधिमा रु एक खर्ब ६१ अर्ब ८२ करोड ३० लाखबराबर भन्सार उठाउने सरकारी लक्ष्य रहेकोमा रू ८५ अर्ब ७८ करोड ७३ लाखबराबर मात्रै संकलन भएको देखिएको हो।
मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क असुलीमा पनि ७२ प्रतिशतबराबर मात्रै उपलब्धि हासिल भएको छ। पुस मसान्तसम्ममा रु एक खर्ब ८० अर्ब २४ करोड ८३ लाखबराबर भ्याट उठाउने सरकारी लक्ष्य रहेकोमा रु एक खर्ब ८० अर्ब २४ करोड ८३ लाखबराबर मात्रै उठेको देखिन्छ।
चालू आवको अर्धवार्षिक अवधिमा अन्तःशुल्कतर्फ रु ९७ अर्ब ५० करोड ९६ लाखबराबर असुली गर्ने सरकारी लक्ष्य थियो। तर, यही अवधिको वास्तविक अन्तः शुल्क असुली भने रू ७० अर्ब ५१ करोडबराबर छ। जुन अर्धवार्षिक लक्ष्यको ७२ दशमलव तीन प्रतिशतबराबर हो।
यही अवधिमा सरकारले रु एक खर्ब १६ अर्ब ७९ करोडबराबर आयकर उठाएको छ। जुन रकम यो अवधिका लागि राखिएको लक्ष्यको ७४ दशमलव तीन प्रतिशतबराबर हो। सरकारले पुस मसान्तसम्ममा रू एक खर्ब ५७ अर्ब २२ लाख १८ हजारबराबर आयकर उठाउने लक्ष्य राखेको थियो।
अर्धवार्षिक समीक्षा अवधिमा शिक्षा सेवा करतर्फ भने लक्ष्यअनुसार नै राजस्व उठेको छ। यो अवधिमा रू ७३ करोड ४८ लाखबराबर शिक्षा सेवा कर उठाउने सरकारी लक्ष्य रहेकोमा रु ७३ करोड ६७ लाखबराबर उठेको छ।
अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको पछिल्लो छ महिनाको तुलनामा चालू आर्थिक वर्षको राजस्व संकलन १५ दशमलव ३२ प्रतिशतले घटेको छ।
गत वर्षको तुलनामा यस वर्ष भन्सार राजस्व ३१ दशमलव ३८ र आन्तरिक राजस्व एक दशमलव छ प्रतिशतले घटेको देखिएको हो। आयात निरुत्साहन गर्नका लागि चालिएका कदमका कारण भन्सार राजस्व घटेको अर्थ मन्त्रालयको भनाइ छ।
त्यस्तै, घरजग्गाको कारोबारमा देखिएको शिथिलता र घट्दो सेयर बजारका कारण पुँजीगत लाभकरमा आएको कमी पनि लक्ष्यअनुसार राजस्व असुली हुन नसक्नुको कारण रहेको मन्त्रालयले जनाएको छ।