दिनदिनैको काम, एक दिन भवितव्य

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

१०:३० को उडान भर्न यती एयरलाइन्सका पाइलट कमल केसी बिहान ९ बजे नै घरबाट निस्किएका थिए । घरमा बिदा भएर निस्किने वेला कान्छा छोरा र श्रीमती शिलुलाई भने भनेका थिए– रिटर्न उडान छिट्टै छ, चाँडै नै घर आइपुग्छु । तर, उनको वचन अधुरै बन्यो । 

पोखरामै जन्मिएका कमलका श्रीमती र कान्छा छोरा काठमाडौंको बुढानीलकण्ठ इटालीटारस्थित घरमा बस्छन् । जेठा छोरा बैंककमा छन् । श्रीमान् दुर्घटनामा परेको खबरले श्रीमती शिलु विक्षिप्त छिन् । उनलाई छिमेकीले सम्हालिरहेका छन् ।

केसी नयाँ पाइलट थिएनन्, नेपाली आकाशमा उडान भरेको ३१ वर्षको अनुभव थियो । तर, पाका पाइलटको हैसियतले अप्ठ्यारा विमानस्थलमा उडान भर्न जिम्मा दिइने उनलाई आफ्नै अनुभवले पनि झुक्यायो । यतीमा उनी प्रशिक्षक पाइलटको जिम्मेवारीमा थिए । केसीले सन् १९८८ मा अमेरिकाको टेक्सासबाट प्रोफेसनल पाइलट कोर्स गरेका थिए । कोर्स सकिएलगत्तै उनी नेपाल फर्किएर १९८९ मा नेपाल एयरलाइन्सको ट्विनअटर जहाजबाट उडान भर्न सुरु गरे । 

सन् २००७ मा नेपाल एयरलाइन्स छाडेर यती एयरलाइन्समा उडान भर्न थाले । यती एयरलाइन्समार्फत उनले नेपालका लगभग सबैजसो हवाई रुटमा उडान भरेका छन् । त्यस्तै, आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा पाइलट थिइन् ४५ वर्षीया अञ्जु खतिवडा । १६ वर्षअघि उनले यती एयरकै जहाज दुर्घटनामै श्रीमान् पाइलट दीपक पोखरेललाई गुमाएकी थिइन् । ७ असार ०६३ मा सुर्खेतबाट जुम्लाका लागि उडेको जहाज बाटोमै दुर्घटना भएको थियो । उक्त जहाजमा को–पाइलट थिए पोखरेल । दुर्घटनामा चालक दलसहित नौजनाको मृत्यु भएको थियो । 

श्रीमान्को मृत्युपछि घरपरिवारले नर्सिङ पढ्न जोड लगाएको थियो । तर, अञ्जुले श्रीमान्का अधुरा सपना पूरा गर्न पाइलट नै बन्ने अठोट लिइन् । पाइलट अध्ययनकै लागि अमेरिका गइन् । चारवर्षे अध्ययनपछि नेपाल फर्किइन् र यती एयरलाइन्समै सेवा सुरु गरिन् । अञ्जुले उडाउँदै गरेको जहाज यतीले गुण एयरलाई बेच्यो ।

जहाज किनेसँगै गुणले अञ्जुलाई पनि जागिरको अफर गर्‍यो । तर, उनले यतीमै सेवालाई निरन्तरता दिने निर्णय लिइन् । दुर्भाग्य, आइतबार क्याप्टेनका लागि अन्तिम प्रशिक्षण उडानमा थिइन् । उनका सहकर्मी यतीका पाइलट रोशन सापकोटा भन्छन्, ‘अञ्जुका श्रीमान् पहिला यतीकै को–पाइलट थिए । जहाँ दुर्घटनामा उनी बिते । पछि अञ्जुले पनि पाइलट बनेर यतीमै जागिर सुरु गरिन् । तर, श्रीमान् बितेको १६ वर्षपछि उनी पनि दुर्घटनामा परिन् ।’ श्रीमान्को मृत्युपछि उनले दोस्रो विवाह गरेकी थिइन् । उनका पोखरेलतर्फबाट २२ वर्षकी छोरी र अहिलेको श्रीमान्बाट सात वर्षका छोरा छन् ।

दिवंगत पाइलट अञ्जु खतिवडाको विराटनगरस्थित माइतीघर शोकमा

अञ्जुका वृद्ध बुबाआमा विराटनगरमा छन् । ६७ वर्षका बुबा गोविन्द खतिवडा र ६५ वर्षीया आमा इन्दिरा खतिवडा मात्र नभएर आफन्तसमेत कोही बोल्न सक्ने अवस्थामा छैनन् । गाउँ शोकमा डुबेको छ । बुबा गोविन्द सरकारका पूर्वकर्मचारी हुन् । उनले लामो समय राजस्व विभागमा रहेर काम गरेका थिए । 

 रुचिको क्षेत्रमा करिअर सुरु गर्दागर्दै अस्ताइन् एयर होस्टेस ओसिन
करिब पाँच महिनाअगाडि यती एयरलाइन्समा आबद्ध भएकी थिइन् ओसिन आलेमगर । चितवनको माडी नगरपालिका– ८ दक्षिण अयोध्यापुरीकी उनले यतीबाटै जागिरे करिअर थालेकी थिइन् । बाबु भारतीय आर्मीका रिटायर्ड हुन् । छोरीकै रुचिकै कारण परिवारले उनलाई एयर होस्टेस पढाएको थियो । ओसिन जागिरे भएपछि परिवार केही समयदेखि काठमाडौं बस्दै आएको छ । दुर्घटनाको खबरपछि ओसिनका बुबा पोखरा पुगेका छन् । ओसिनका बहिनी र भाइ छन् । 

 पोखरा पुगेर परिवारलाई फोन गर्ने  सिर्जनाको वचन आकाशमै समाप्त
रुपन्देही सैनामैना– ५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) आइतबार दुर्घटनामा परेको विमानमा एयर होस्टेस थिइन् । पोखराको उडानबारे उनले परिवारसँग शनिबार नै कुराकानी गरेकी थिइन् । परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय रवन्तबहादुर सिँजालीका अनुसार आइतबार पोखरा पुगेपछि फोन गर्ने वचन दिएकी थिइन् । तर, सिर्जनाको वचन आकाशमै समाप्त भयो । छोरी दुर्घटनामा परेको खबर पाएदेखि आमा खिमिसरा थापा सम्हालिन सकेकी छैनन् । माघेसंक्रान्तिको बटुक बनाएर सिर्जनालाई पाहुर पठाउने तयारी हुँदै थियो । उनकी जेठी भाउजू पाहुर बोकेर जाने तयारी गरिरहँदा दुर्घटनाको खबर आयो । २९ वर्षीया सिर्जना ०७२ देखि यती एयरलाइन्समा थिइन् ।

माघेसंक्रान्ति मनाउन १० महिने  छोरासहित आउँदै थिए श्रेष्ठदम्पती

काठमाडौंस्थित ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ श्रीमती डा. सोनादिवाकर र १० महिने छोरासहित माघेसंक्रान्ति मनाउन पोखरा आउँदै थिए । पोखरा– ४ घर भएका उनीहरूलाई बुबा मदनकाजीले घर आउन भनेका थिए । एक साताको बिदा लिएर काखेछोरोसहित परिवार भेट्न काठमाडौंबाट उडेका श्रेष्ठदम्पती घर आइनपुग्दै अस्ताए ।

खाना पकाएर छोरा–बुहारी र नाति आउने बाटो हेरिरहेकी आमा ६४ वर्षीया भीममाया दुर्घटनाको खबर पाएसँगै बेहोस् छिन् । ६५ वर्षीय मदनकाजी विछिप्त छन् । मृतकको शवको सनाखत मदनकाजीका नातेदार विजय राजभण्डारीले गरेका छन् । ‘बुबाआमासँगै माघे संक्रान्ति मनाउन आउने क्रममा दुर्घटना भयो । खबर सुनेपछि बृद्ध बाबुआमा इन्तु न चिन्तुको अवस्थामा पुगेका छन्,’ उनले भने । 

३८ वर्षका डा. श्रेष्ठ थप अध्ययनका लागि केही दिनमै सिंगापुर जाँदै थिए । ३६ वर्षकी फिजिसियन डा. सोना छोरा जन्मिएपछि जागिर छाडेर घरमै बस्दै आएकी थिइन् । एमडी (डक्टर अफ मेडिसिन)को तयारीमा रहेकी उनको पनि नामसमेत निस्किएको थियो । 

‘सुशील ट्रमा सेन्टरबाटै थप अध्ययनका लागि सिंगापुर जाने तयारीमा थिए । यसका लागि उनलाई बिश्वविद्यालयले ‘एसेप्टेन्स लेटर’ पनि पठाएको थियो  । बुहारीले पनि एमडी अध्ययनका लागि नाम निकालेकी थिइन् । अचानकजहाज दुर्घटनामा पर्यो । सबै योजना भताभुंग बन्यो,’ उनीहरूका फुपाजु नाता पर्ने राजभण्डारीले भने । मृतक डा. श्रेष्ठ परिवारको कान्छा छोरा हुन् । उनका एक दाइ छन् । अमेरिकामा बस्दै आएका उनले दुर्घटनाको खबर पाइसकेका छन् । दाइ आएपछि मात्रै दाहसंस्कार हुने राजभण्डारीले बताए । 

अमेरिकाबाट श्रीमती लिन आएका थिए सापकोटा
चार वर्षअघि डिभी परेर अमेरिका गएका पोखरा महानगरपालिका– २५ हेम्जा घर भएका राजन सापकोटाले गत वर्ष माघमा घरमै आएर विवाह गरेका थिए । उनी श्रीमती अनिशा बानियाँलाई अमेरिका लैजान भन्दै चार दिनअघि काठमाडौं ओर्लिएका थिए । विवाह गरेको तीन महिनामै अमेरिका गएका श्रीमान् आफूलाई लिन आउने भएपछि अनिशा पनि लिनका लागि काठमाडौं गएकी थिएन् । नौ महिनापछि भेट भएका श्रीमान्–श्रीमती केही दिन काठमाडौंको बसाइपछि पोखरा आउने क्रममा दुर्घटनामा परे । 

छोरीको डेरा सार्न गएका थिए कुँवर
पोखरा– २५ घर भएका जितेन्द्र कुँवर केही दिनअघि छोरा जेनिससहित काठमाडौं गएका थिए । उनकी छोरी जेनिसा चिकित्सा शिक्षा अध्ययनका लागि आमा भगवतीसँगै काठमाडौंमा बस्थिन् । जेनिसाले पोखरा– १६ स्थित मातृशिशु मितेरी अस्पतालमा जागिर पाएपछि उनलाई लिन जितेन्द्र र जेनिस काठमाडौं गएका थिए । जेनिसा सोमबारदेखि जागिरमा हाजिर हुनुपर्ने भए पनि शनिबार नै बसबाट पोखरा फर्किइन् । जेनिस पनि अर्का एक आफन्तसँग शनिबार नै ट्रकमा सामान लिएर पोखरा आएका थिए । छोराछोरीलाई पठाएपछि आइतबार बिहानको जहाजको टिकट काटेका कुँवरदम्पती भने घर पुग्नै लाग्दा सधैँका लागि बिदा भए ।

मन्त्रालयको कामका लागि काठमाडौं गएकी थिइन् पौडेल
गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयअन्तर्गत सूचना प्रविधि शाखा अधिकृत छैटौँ तहमा कार्यरत लक्ष्मी पौडेल चार दिनअघि मन्त्रालयको काम लिएर काठमाडौंस्थित सूचना तथा सञ्चार मन्त्रालय गएकी थिइन् । पोखरा– ५ घर भएकी पौडेल काम सकेर आइतबार पोखरा फर्कँदै थिइन् । 

लोकदोहोरी गायिका छन्त्यालको पनि निधन
विमान दुर्घटनामा लोकदोहोरी गायिका निरा छन्त्यालको निधन भएको छ । छन्त्याल समाज कास्कीले आयोजना गरेको कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएकी छन्त्याल यही विमानमा सवार थिइन् । उनले विमान चढ्नुअघि सामाजिक सञ्जालमार्फत सबैलाई माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन् । ‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् । 

यसअघि उनले शनिबार छन्त्याल भवन काठमाडौंमा सांगीतिक प्रस्तुति दिएकी थिइन् । उक्त कार्यक्रमको तस्बिर सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेकी थिइन्, ‘छन्त्याल भवन काठमाडौंको माघी सकियो, अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ ।’

गायिका छन्त्यालले ‘बुकी’, ‘फुलको केसरी’, ‘संगीनी’, ‘भन्न पाए त’, ‘मइतीको धुरी’लगायत दर्जनौँ गीतमा आवाज दिएकी छिन् । उनले आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहोरी प्रस्तुत गर्ने गरेकी थिइन् । 

विमान दुर्घटनामै पोखरा घर भएका युवापुस्ताका लोकप्रिय गिटारिस्ट निशान्त आचार्यको पनि निधन भएको छ । आचार्य केसिक्स बिफोर नामक सांगीतिक गिटारिस्ट हुन् । उनले आफ्नो युट्युब च्यानलबाट गिटारसम्बन्धी जानकारीमूलक भिडियो पस्किने गरेका थिए । त्यही कारण उनी युवापुस्ताबीच निकै चर्चित थिए । 

महेन्द्रनगरका आमाछोरा सेती खोँचमा अस्ताए, भट्ट परिवारमा बज्रपात
यती एयरलाइन्सको दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरका आमाछोराको मृत्यु भएको छ । महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जीवचन्द्र भट्टकी श्रीमती ५० वर्षीया सुष्मा पाण्डे भट्ट र कान्छा छोरा १६ वर्षीय स्लक भट्टको मृत्यु भएको हो । महेन्द्रनगरमा पशुपति इम्पोरियमका सञ्चालक सञ्जीवचन्द्र भट्टका कान्छा छोरा स्लक हालै मात्र उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए ।

सुष्माका कान्छा ससुरा यज्ञराज भट्टले महेन्द्रनगरको सार्कबाट ०७८ मा एसइई उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययनका लागि स्लक काठमाडौं गएको बताए । स्लक कक्षा ११ मा काठमाडौंको सेन्ट जेभियर्समा अध्ययनरत थिए । ‘भतिज सञ्जीवचन्द्रका जेठा छोरा आशीर्वाद पनि काठमाडौंमै अध्ययन गर्दै आएका छन्,’ उनले भने, ‘यस वर्ष कान्छो नाति पनि अध्ययनका लागि उतै गएको थियो, उनीहरूलाई हेरचाह गर्न बुहारी सुष्मा पनि काठमाडौं नै गएकी थिइन् ।

गत ५ पुसमा भतिज सञ्जीव पनि काठमाडौं गएका थिए ।’सञ्जीवका बहिनीज्वाइँ प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी गण्डकी प्रदेश प्रहरी प्रमुखमा कार्यरत थिए । सञ्जीवकी बहिनी दीपा भट्ट जोशी पनि उतै पोखरामा बस्ने भएकाले माघीका लागि उनीहरूले निम्तो दिएपछि सञ्जीव २८ पुसमै काठमाडौंबाट पोखरा गएका थिए । ‘नाति स्लकको विद्यालयको आन्तरिक परीक्षा ३० पुसमा सकियो । नाति र बुहारी आइतबार बिहानै उडेका थिए, उता सञ्जीव श्रीमती र छोराको पर्खाइमा थिए, एक्कासी जहाज दुर्घटनाको खबरले स्तब्ध बनायो ।’ सञ्जीवचन्द्रका जेठी छोरी निधि भट्ट डाक्टर र कान्छी छोरी युक्त भट्ट इन्जिनियर छिन् । जेठा छोरा आशीर्वाद भट्ट आइएस्सी अध्ययन गर्दै छन् । अकल्पनीय घटनाले भट्ट परिवारमा बज्रपात परेको छ । सञ्जीवचन्द्र भट्टको महेन्द्रनगरस्थित घरमा आमा माया भट्ट बस्दै आएकी छिन् । 

दुर्घटनामा परे दुई पत्रकार
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र पोखराको एपोस्टल एफएममा कार्यरत अनिल शाही यती एयरको विमान दुर्घटनामा परेका छन् । प्रेस सेन्टरका उपाध्यक्षसमेत रहेका पौडेल सेन्टरको पदाधिकारी बैठकमा सहभागी हुन शुक्रबार पोखराबाट काठमाडौं गएका थिए । १५ र १६ माघका लागि वीरगन्जमा तय भएको सेन्टरको स्थापना दिवसको तयारीबारे छलफल गरिएको शनिबारको बैठक सकेपछि शनिबारै दिउँसो २ः३० को उडानमार्फत पोखरा फर्किने जानकारी गराएका थिए । तर, अन्तिम समयमा उनले टिकट रद्द गरेको प्रेस सेन्टरका अर्का उपाध्यक्ष निर्मल ज्ञवालीले बताए ।

पौडेलले आइतबार बिहान प्रधानमन्त्रीसँग भेट गरेर दिउँसो १२:०० बजे पोखरा आउने टिकट काटेका थिए । पौडेलले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण भेट नहुने भएपछि टिकट अगाडि सारेका थिए । प्रेस सेन्टरका अध्यक्ष विष्णुप्रसाद सापकोटाले १२ बजेका लागि टिकट लिएको जानकारी गराएका पौडेलले टिकट अगाडि सारेकोबारे आफूलाई जानकारी नभएको बताए । पौडेल कास्कीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका थिए । माओवादी नेता कृष्णबहादुर महरा अर्थमन्त्री छँदा प्रेस सल्लाहकारको भूमिकामा रहेका उनी कास्की हटलाइन दैनिकका सम्पादक थिए । उनका श्रीमती र तीन वर्षीय छोरा छन् । 

विराटनगरमा गणेश लम्साल, भरतपुरमा विवेक पोखरेल, बुटवलमा विष्णु घिमिरे र काठमाडौंमा शिवहरि घिमिरे 

See More On

सुझावित समाचार