नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल) र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंकबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)को नामबाट बुधबारदेखि एकीकृत कारोबार सुरु भएको हो ।
एकीकृत कारोबार सुरु गर्न आयोजना गरिएको कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका थिए ।
दुई बैंकबीच सेयर स्वाप अनुपात १००: ९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साबिक नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि साबिक इन्भेष्टमेण्ट बैंककै प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे छन् ।
नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । त्यसैगरी, साबिक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकको रूपमा रहेकी मञ्जु बस्नेत नै सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक बन्नेछिन् ।
एकीकृत कारोबार सुरुवात गर्दै अध्यक्ष पाँडेले बैकिङ क्षेत्रमा अग्रणी बैंकहरूको रूपमा सबल एवं सक्षम संस्थाको रूपमा परिचित दुवै बैंक एक–आपसमा गाभिएपछि देशकै ठूला वाणिज्य बैंकहरूमध्येको एक भएको बताए ।
त्यस्तै, सम्पूर्ण वित्तीय सूचकमा अग्रता हासिल गर्न बैंक सक्षम हुने उनको भनाइ थियो । यसका साथै उनले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरूलाई समेत मर्जरका लागि प्रेरित गरेको पनि बताए । अध्यक्ष पाँडेले दोस्रो चरणको मर्जरपछि वाणिज्य बैंकहरूको संख्या ८ मा झर्ने
दाबी गरे ।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरूको सेवा, कर्मचारी व्यवस्थापनजस्ता सकारात्मक पक्षलाई लिनुका साथै सेयरधनीहरूको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने उनको भनाइ थियो ।
मर्जरपछि बैंकको अवस्था
मर्जरपछि बैंकको कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ, कुल पुँजी ५८ अर्ब रुपैयाँभन्दा बढी र कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, कुल निक्षेप तीन खर्व ६० अर्ब दुई करोड रुपैयाँ तथा कर्जा लगानी तीन खर्ब २९ अर्ब ६ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकको ग्राहक संख्या ३० लाख पुगेको छ । मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैकिङ सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ ।