३ प्रश्न

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

त्रिविले गरेको स्ववियु निर्वाचन मिति घोषणालाई कसरी हुर्नुभएको छ ?
लामो समयदेखि देशमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन सकेको छैन । अहिले त्रिविले आगामी ५ चैतमा स्ववियु निर्वाचन गर्ने घोषणा गरेको छ । यो अत्यन्त सकारात्मक छ, स्वागतयोग्य छ । अब त्रिविले अविलम्ब कार्यतालिका घोषणा गरी निर्वाचन तयारीका काम अघि बढाउनुपर्छ । यहाँनिर म नेविसंघ, अखिल क्रान्तिकारीलगायत सम्पूर्ण विद्यार्थी संगठनलाई पनि स्ववियु निर्वाचनको विरोधमा नजान, अवरोध सिर्जना नगर्न र निर्वाचनमा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माणमा सघाउन विशेष अनुरोध गर्न चाहन्छु । 

यसपटकचाहिँ घोषित मितिमै स्ववियु निर्वाचन हुनेमा कति विश्वस्त हुनुहुन्छ ?
अघिल्ला वर्षहरूमा त्रिवि नेतृत्व र विद्यार्थी संगठनहरूको अकर्मण्यता र नालायकीका कारण स्ववियु निर्वाचन घोषित मितिमा हुन नसकी स्थगित हुँदै आयो । अब त्यो अवस्थालाई पुनः दोहोरिन दिनु हुँदैन । समयमै स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी आन्दोलन नै कमजोर भइसक्यो, विद्यार्थी आन्दोलनमाथि नै प्रश्न उठ्ने अवस्था आइसक्यो । त्यसैले, जसरी भए पनि घोषित मितिमै स्ववियु निर्वाचन सम्पन्न हुनुको विकल्प छैन । 

विद्यार्थी राजनीतिको आवरणमा आपराधिक प्रवृत्ति मौलाउँदै गएको आरोप लाग्ने गरेको छ नि ?
शैक्षिक संस्थामा निर्वाचित बडी नहुँदा त्यस्तो अराजकता बढेको हो । त्यसलाई अन्त्य गर्न पनि स्ववियु निर्वाचन गर्नु जरुरी छ । त्यसैले, सम्पूर्ण विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचन सफल पार्न सघाउनुपर्छ । 

सुझावित समाचार