सम्झौताको करिब एक वर्षपछि २५ सय टन युरिया भित्रियो

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

नेपाल–भारत (सरकारद्वारा सरकार)बीच जिटुजीमार्फत रासायनिक मल ल्याउन सम्झौता (जिटुजी) गरिएको करिब वर्ष दिनपछि २५ सय टन युरिया मल आइपुगेको छ । पहिलो चरणमा ल्याउनुपर्ने ३० हजार ६ सय टन मलमध्ये २५ सय मल शनिबार वीरगन्ज नाका हुँदै भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘पहिलो चरणको मल वीरगन्ज आइपुगेको छ, अरू थप मल १५ दिनभित्र आइपुग्छ । अहिले लोड भइरहेको छ ।’ मल आयात गर्दा र्याकमा एकपटकमा २५ सय टन मात्र अट्ने हुँदा पहिलो चरणमा सोही परिमाणको मल ल्याइएको उनको भनाइ छ । मल भित्रिएसँगै कम्पनीका ४१ वटा कार्यालयबाट पाँच सयभन्दा बढी सहकारीमार्फत किसानलाई मल वितरण गरिने उनले बताए ।

 भारतले नेपाललाई जिटुजीमार्फत मल दिन करिब एक वर्ष समय लागेको छ । १६ फागुनमा नेपाल र भारत सरकारबीच पाँच वर्षका लागि जिटुजीमार्फत मल ल्याउन समझदारी भएको थियो । भारतको तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले सो समझदारीपत्र आदान–प्रदान गरेका थिए ।

पाँच वर्षका लागि भएको सम्झौताअनुसार गत आर्थिक वर्षमै एक लाख ५० हजार मेट्रिकटन मल ल्याउनुपर्ने थियो । ६० प्रतिशत युरिया र ४० प्रतिशत डिएपी मल दिनुपर्नेमा भारतले गत वर्ष रुस–युक्रेन द्वन्द्वको कारण देखाउँदै मल उपलब्ध गराएन । जसले गर्दा नेपाली किसानले रासायनिक मलविना नै खेती गर्नुपरेको थियो ।

भारतले नेपालसँग गरेको सम्झौताअनुसार पहिलो वर्ष एक लाख टन युरिया र ५० हजार टन डिएपी, दोस्रो वर्ष एक लाख १० हजार टन युरिया र ६० हजार डिएपी, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी, चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी र पाँचौँ वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी मेट्रिकटन मल ल्याउने गरी सम्झौता भएको छ ।

सुझावित समाचार