हाइकिङका लागि काठमाडौंनजिकका आठ रमणीय रुट

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

पछिल्लो समय हाइकिङ जाने सहरिया जमात बढ्दो छ । दैनिक व्यस्त जीवनशैली र सहरको धुवाँधुलोले दिक्क भइरहँदा मन–मस्तिष्कलाई रिफ्रेस बनाउन प्रायः सहरिया युवायुवती शनिबार हाइकिङ जाने गरेको पाइन्छ । सपरिवार हाइकिङ जानेको संख्या पनि बढ्दो छ । हाइकिङ शारीरिक दृष्टिकोणले पनि राम्रो मानिन्छ । यसले रमाइलोसँगै शारीरिक कसरतमा सहयोग पुर्‍याउँछ । अहिलेको मौसममा आकाश खुला हुने भएकाले पनि दृश्यावलोकनको मज्जा लिन हाइकिङ जानेहरूको संख्या उच्च रहने गरेको छ । तारेभिर, सुन्दरीजल, शिवपुरी, फर्पिङ, चन्द्रागिरि, बुङमती, गोदावरी, फुलचोकी, लाँकुरीभञ्ज्याङ, नागार्जुन, गोकर्ण, झोर, साँगा, चाँगुनारायण र ककनीलगायत हाइकिङका लागि उपयुक्त रुट हुन् । 

तीर्थ तामाङ, ट्रेल रनर 

१. चम्पादेवी : काठमाडौंबाट सवारीसाधनमार्फत छोटो समयमै चम्पादेवी पुग्न सकिन्छ । चोभारको टौदहबाट यात्रा सुरु गर्न सकिन्छ । अर्काे, कीर्तिपुरको मच्छेगाउँबाट पनि जान सकिन्छ । यहाँबाट हिँड्दै फर्पिङ पुगेर फेरि फर्कन सकिन्छ । चुचुरोमा पुगेपछि पहाडी शृंखलाको अवलोकन गर्न पाइन्छ । छोटो अवधिमै सहरको धुवाँधुलो छोडेर स्वच्छ वातावरण महसुस गर्न पाइन्छ । हिमालय शृंखलाको अवलोकन तथा हरियाली जंगल यो रुटको प्रमुख विशेषता मानिन्छ । 

२. फुलचोकी : काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडहरूमध्ये सबैभन्दा अग्लो चुचुरो फुलचोकी हो । यो डाँडाबाट हिमालहरूको अवलोकन गर्न पाइने भएकाले ठूलो संख्यामा मानिसहरू हाइकिङका लागि जान्छन् । यहाँबाट गौरीशंकर, गणेशलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । फुलचोकी जानका लागि पहिले सवारीसाधनमार्फत गोदावरी पुग्नुपर्छ । त्यसपछि हिँड्ने क्रम सुरु हुन्छ । 

३. शिवपुरी : काठमाडौंको नागार्जुन नगरपलिकाअन्तर्गत पर्छ, शिवपुरी डाँडा । यस रुटमा सेतो गुम्बा, आनी गुम्बा हेर्दै हिँड्न पाइन्छ । डाँडामा पुगेपछि गणेश, गौरीशंकरलगायतका हिमाल देख्दा हिँड्नेहरू आनन्दित हुने गर्छन् । 

४. लाँकुरी भञ्ज्याङ : लाँकुरी भञ्जाङबाट उपत्यकाका तीनवटै जिल्लाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ । यो क्षेत्र चारैतिरबाट वनले घेरिएको छ । यो क्षेत्र पिकनिक स्पटका लागि पनि चर्चित छ । हरियाली वनजंगलको दृश्यावलोकन गर्दै रमाइलो गर्न सकिन्छ । 

५. सुन्दरीजल  : घुम्नका लागि नजिकको स्थान सुन्दरीजल पनि हो । सुन्दरीजलबाट मूलखर्क हुँदै ओखे्रनी जाने एउटा रुट छ । अर्को राम्रो रुट चाँगुनारायण–सुन्दरीजल हो । 

६. ककनी : ककनी नुवाकोट जिल्लामा पर्छ । यो पिकनिक स्पटका रूपमा चर्चित छ । अहिले हाइकिङका लागि पनि युवायुवतीहरूको रोजाइमा पर्न थालेको छ । बलाजु–मुड्खु भञ्ज्याङ हुँदै ककनी गएर फर्कन सकिन्छ । 

७. नमोबुद्ध : नमोबुद्ध पनि हाइकिङका लागि उपयुक्त ठाउँ हो । काठमाडौंबाट सवारीसाधनमा काभ्रे भञ्ज्याङ गएर त्यहाँबाट यात्रा सुरु गर्न सकिन्छ । नमोबुद्ध क्षेत्रमा सयौँ बुद्धिस्ट पुगेका हुन्छन् । त्यसैले यो धार्मिक रुट पनि हो । 

८. चन्द्रगिरि : चन्द्रागिरि अर्को चर्चित हाइकिङ ट्रेल हो । यो कीर्तिपुरको मच्छेगाउँबाट सुरु हुन्छ । छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ । चन्द्रागिरिमा उपत्यका आक्रमणका वेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई आजभोलि ‘कालु पाँडे फोर्ट’ भन्ने गरिन्छ । चन्द्रागिरिको डाँडा निस्कने अर्काे ट्रेल थानकोटको गोदामचौरबाट पनि छ ।

फाइदा 
हाइकिङका धेरै फाइदा छन् । मुटु स्वस्थ राख्न सहयोग मिल्छ । रक्तचाप नियन्त्रण हुन्छ । मधुमेहका रोगीहरूका लागि हिँड्नु फाइदाजनक छ । मोटोपन कम भएर जान्छ । डिप्रेसन र एन्जाइटी कम गराउँछ । राम्रो निद्रा लाग्छ । मांसपेशी र हड्डी बलियो हुन्छन् । मुड फ्रेस रहन्छ । 

See More On

सुझावित समाचार