हेटौँडामा जारी आठौँ राष्ट्रिय भेट्रान्स एट ‘ए’ साइड फुटलब प्रतियोगिताको उपाधिका लागि बानेश्वर भेट्रान्स काठमाडौं र एबिसी भेट्रान्स पोखरा भिड्ने भएका छन्।
हेटौँडा– ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा जित निकाल्दै बानेश्वर भेट्रान्स काठमाडौं र एबिसी भेट्रान्स पोखराले फाइनल भिडन्त पक्का गरेका हुन्।
शुक्रबार भएको सेमिफाइनलमा बानेश्वर भेट्रान्स काठमाडौंले सिमरा भेट्रान्स बारालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो। बानेश्वरको जितका लागि नारायण कार्कीले दुई तथा उमेश लामा र युवराज भुजेलले समान एक–एक गोल गरे। खेलको म्यान अफ द म्याच बानेश्वरका नारायण कार्की घोषित भए।
यस्तै, डिफेन्डिङ च्याम्पियन पोखराको एबिसी भेट्रान्सले टाइब्रेकरमा मनाङ मर्स्याङ्दी भेट्रान्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
टाइब्रेकरमा एबिसीको तर्फबाट विकर्ण श्रेष्ठ र विश्वलाल श्रेष्ठ र नरेन्द्रजंग गुरुङ मुखियाले गोल गर्दा मनाङको तर्फबाट नरेश श्रेष्ठ र शिरीषविक्रम हमालले मात्र गोल गरे। मनाङ मर्स्याङ्दीका चक्रबहादुर तामाङको प्रहार रोकेका एबिसीका गोलरक्षक खिमबहादुर गुरुङ म्यान अफ द म्याच भए।
प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ। हेटौँडा भेट्रान्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ तथा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।