नेपाली हिन्दू संस्कारअनुसार बुबाआमाको काजकिरिया छोराले गर्ने चलन छ। पछिल्लो समय छोरीले पनि काजकिरिया गर्न थालेका छन्। तर, ओखलढुंगामा श्रीमतीले आफ्नो श्रीमानको काजकिरिया गरेकी छिन्।
जिल्लाको सिद्धिचरण नगरपालिका– १२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले श्रीमानको मृत्यु संस्कार गरेकी हुन्। श्रीमान् तिलकबहादुर श्रेष्ठकोे निधन भएपछि सुमित्राले आफैँ छापो–कोरा गरेर काजकिरिया गरेकी हुन्।
२२ वर्ष पहिले दोस्रो विवाह गरी तिलकबहादुर सुमित्राबाट छुट्टिएर मानेभञ्ज्याङ गाउँपालिका– ४ धुसिने बस्दै आएका थिए। तिलकको गत पुस ९ गते ५४ वर्षको उमेरमा छिमेकीको घरमा मृत्यु भएको थियो। उनलाई दागबत्ती दिएर सुमित्राले नै मृत्यु संस्कार गरेकी हुन्।
काजकिरिया गर्ने छोरासमेत नभएकाले आफैँले श्रीमानप्रतिको कर्तव्य पालना गरेको सुमित्राले बताइन्। सुमित्रा र तिलकका एक छोरा र एक छोरीमध्ये छोरा राजुको करिब दुई वर्ष पहिले २८ वर्षकै उमेरमा निधन भइसकेको छ। उनी अहिले विवाहित छोरीसँग बस्दै आएकी छिन्।
‘भाइ बितेको दुई वर्षमै बुबाको मृत्यु भयो। अरू दाजुभाइ छैनन्। काका–बडाबाहरूले बुबाको काजकिरिया गर्न नमानेपछि आमा आफैँले गर्नुभयो,’ सुमित्राकी छोरी रन्जु श्रेष्ठले बताइन्।