आर्थिक संकटमोचनको बाटो

निजी क्षेत्र नै निरुत्साहित हुने गरी लागू गरिएका नीति नियम नै अर्थतन्त्र बिग्रिनुका मुख्य कारण हुन्, सुधार यहीँबाट गर्नुपर्छ

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

मुलुकको अर्थतन्त्र संकटमा छ । अर्थतन्त्रको इन्जिन मानिने निजी क्षेत्रले यतिवेला आफ्नो व्यावसायिक जीवनकै सबैभन्दा खराब परिस्थितिको सामना गर्नुपरेको छ । समग्र निजी क्षेत्र त्रासबीच उद्यम/व्यवसाय गरिरहेका छन्, मनोबल एकदमै कमजोर छ । नियन्त्रणको नीतिले अर्थतन्त्रका बाह्य सूचकमा सामान्य सुधार देखिए पनि आन्तरिक सूचक खराब छन् । बजारमा माग घट्दा आर्थिक गतिविधि संकुचित छन् । नयाँ लगानीका योजना स्थगित छन्, सञ्चालनमा रहेका व्यवसायको निरन्तरता नै सबैभन्दा ठूलो चुनौती बनेको छ । 

कोभिड महामारी, रुस–युक्रेन युद्ध, विश्वव्यापी आर्थिक संकटजस्ता कतिपय अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो बनाएको देखिन्छ । तर, यस्तो अवस्था सिर्जना भइसक्दा पनि यसलाई गम्भीर रूपमा नलिने र झन् निजी क्षेत्र नै निरुत्साहित हुने गरी लागू गरिएका नीति नै अर्थतन्त्र बिग्रिनुका मुख्य कारण हुन् । 

अर्थतन्त्रको यो जटिल अवस्थाबीच नयाँ सरकार गठन भएको छ । यद्यपि, मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । अर्थतन्त्र जटिल अवस्थामा रहेकाले नियमित किसिमबाट मात्र सरकार सञ्चालन गर्ने छुट नयाँ मन्त्रिपरिषद्लाई छैन । अर्थतन्त्रका समस्या समाधान नगरे सरकार सञ्चालनमै अप्ठ्यारो पर्ने र समग्रमा मुलुक नै गम्भीर आर्थिक संकटमा पर्ने देखिएकाले नयाँ सरकारको प्राथमिकता अर्थतन्त्र सुधारमै हुनुपर्छ । 

अर्थतन्त्रमा शृंखलाबद्ध समस्या विकसित भइरहेकाले राजनीतिक दोषारोपणभन्दा पर राखी खास–खास समस्या समाधानमा सरकारले जोड दिनुपर्छ । बाह्य कारण देखाएर अर्थतन्त्रको समस्यालाई सामान्य बनाउने भाष्य एकदमै डरलाग्दो बनेको छ । नेपालको आर्थिक समस्या आन्तरिक कारणद्वारा सिर्जित भएको हो, यसको समाधान आन्तरिक रूपमै गर्न सकिन्छ ।

वित्तीय नीतिमा हेरफेर
उच्च ब्याजदरका कारण व्यवसाय कठिन भएको भन्दै निजी क्षेत्र आन्दोलित छ । निजी क्षेत्रले आन्दोलन गर्ने मान्यता राख्दैन, न उसको रुचिको विषय नै हो । तर, समस्या समाधान हुनै नसक्ने अवस्थापछि जिल्लाभरका प्रतिनिधि विरोधमा उत्रिनुभएको छ । विरोधको आकार बिस्तारै देशभर फैलिँदै छ । यसको मुख्य कारण अहिले लिएको वित्तीय नीति नै हो । 
निजी क्षेत्रले अहिले भोगेको सबैभन्दा ठूलो समस्या भनेको चर्को ब्याजदर र तरलता अभाव नै हो । मुनाफाबाट ब्याज नै तिर्न नसक्ने गरी १७ प्रतिशतसम्म ब्याजदर पुगेको छ । औसतमा १० प्रतिशत रहेको ब्याजदरमा थप प्रिमियम लिन सक्ने व्यवस्थाले उद्योगी व्यवसायी हायलकायल छन् । वित्तीय संस्थाको नाफा, सञ्चालन खर्च सबै आधार दरमै समेटिने हुँदा पनि प्रिमियम जोड्न पाउने सुविधाको अतिरिक्त आवश्यकता देखिँदैन । त्यसैले तत्कालका लागि तीन प्रतिशतभन्दा बढी प्रिमियम लिन पाउने व्यवस्था हटाउनैपर्छ । 

चालू पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकले लिएको मार्गदर्शन आफैँमा नराम्रो होइन । वित्तीय संस्थाबाट प्रवाह हुने ऋणको सही सदुपयोग हुनैपर्छ र मार्गदर्शनले त्यही विषयलाई जोड दिएको छ । तर, तरलता अभावबीच मार्गदर्शन कार्यान्वयनले समग्र अर्थतन्त्रलाई नै असर पारेको देखिँदै छ । वित्तीय नीति आफैँमा राम्रो भए पनि त्यसको प्रयोग सही समयमा भएन भने त्यसको उपादेयता हुँदैन । चालू पुँजी मार्गदर्शनसम्बन्धमा पनि यसै कारण विरोध भएको हो । यसलाई परिस्थिति अनुकूल भएपछि कार्यान्वयन गर्ने गरी तत्काललाई स्थगित गर्नु अर्थतन्त्रको स्वास्थ्यका लागि फाइदाजनक हुने हाम्रो माग थियो ।

सोहीअनुरूप नयाँ सरकार गठन भएसँगै यस विषयमा सम्बद्ध सरोकारवालासँग छलफल गरी सुझबुझपूर्ण तरिकाले उक्त मार्गदर्शनलाई संशोधन गरिएको छ, जुन स्वागतयोग्य छ । तर, निजी क्षेत्रका थुप्रै मागलाई सम्बोधन गरिएको छैन ।वित्तीय क्षेत्रमा देखिएका समस्या हल गर्न राष्ट्र बैंक, निजी क्षेत्रका छाता संगठन र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबीच सघन सहकार्य र नियमित छलफल आवश्यक छ । यसका लागि खासगरी अर्थ मन्त्रालयले अभिभावकका रूपमा समन्वय गरिदिन सक्छ । वित्तीय जटिलता हल गर्ने अहिलेको सहज उपाय पनि यही नै हो । यसमा नियामकले लचकता भने प्रदर्शन गर्न सक्नुपर्छ । 

राजस्व र खर्चमा तालमेल
आर्थिक वर्षको पहिलो चौमासिकमै मुलुक करिब एक खर्ब रुपैयाँले घाटामा छ । राजस्वका कुनै पनि लक्ष्य पूरा भएका छैनन् । अर्कोतिर, भएको खर्च अधिकांश चालू प्रकृतिका काममा मात्र छन् । विकास निर्माण, रोजगारी र पुँजी सिर्जनालाई सहयोग पुग्ने पुँजीगत प्रकृतिको खर्च भने एकदमै न्यून छ ।

बिग्रिएको अर्थतन्त्र सुधारको जस प्राप्त गर्ने हो भने सरकारले महŒवपूर्ण र परिवर्तनकारी काम गर्नुपर्छ । राजस्व चुहावट तथा नियन्त्रण, सीमा क्षेत्रको अवैध व्यापार निस्तेज, कर्मचारी संयन्त्रको प्रणालीगत उपयोग र भ्रष्टाचारमा शून्य सहनशीलता सरकारले लिनैपर्ने ठोस कदम हुन् ।

सामाजिक सुरक्षाको बढ्दो दायरा, कर्मचारी व्यवस्थापन र फजुल खर्चमा भएको बढोत्तरीले राजस्वबाट मात्रै चालू खर्च धान्न नसक्ने परिस्थिति बनेको छ । दैनन्दिन खर्च धान्न पनि ऋण लिनुपर्ने स्थिति बन्दै छ । यस्तोमा विकास निर्माणमा हुने खर्च कम प्राथमिकतामा पर्छ । यो परिस्थितिले हाम्रो राजस्व अनुमान र खर्चबीच तादात्म्यता देखाउँदैन । अपुग खर्च ऋणबाटै व्यहोरिन्छ भन्ने मान्यता छ । तर, ऋणको परिचालनमार्फत अर्थतन्त्रको वृद्धि र सुधारतर्फ कुनै ध्यान पु¥याइएको छैन ।

नयाँ सरकारलाई अर्थतन्त्रको संरचनात्मक सुधारको महत्वपूर्ण अवसर छ । बिग्रिएको अर्थतन्त्र सुधारको जस प्राप्त गर्ने हो भने सरकारले महत्वपूर्ण र परिवर्तनकारी काम गर्न सक्छ । लोकप्रियतावादको पछि नलागेर राजस्व चुहावट तथा नियन्त्रण, सीमा क्षेत्रको अवैध व्यापार निस्तेज, कर्मचारी संयन्त्रको प्रणालीगत उपयोग र भ्रष्टाचारमा शून्य सहनशीलता सरकारले लिनैपर्ने ठोस कदम हुन् ।

राज्य प्रणालीप्रति विश्वस्त बनाउने गरी सरकारले काम गर्न पनि खर्चको सदुपयोग अहिलेको महत्वपूर्ण सवाल हो । अनावश्यक खर्च कटौती गर्दै रोजगारी सिर्जना गर्ने खालका परियोजनामा लगानी बढाउने गरी आर्थिक नीति बनाउने साहस सरकारले गर्नैपर्छ । कमजोर पुँजीगत खर्चलाई बढाउन सार्वजनिक खरिद प्रक्रियामा रहेका जटिलता फुकाउनेदेखि आवश्यकताअनुसार कानुन संशोधनमा सरकार तयार हुनुपर्छ । 

असार मसान्तमा अत्यधिक खर्च हुने, तर पाँच महिना पूरा हुँदासम्म सात प्रतिशत पनि पुँजीगत खर्च नहुने असमानुपातिक खर्च प्रणालीको शृंखला अब अन्त्य गर्नुपर्छ । यसले बजारमा तरलता उपलब्ध मात्र गराउँदैन अर्थतन्त्रको चक्रलाई समेत नियमित गर्छ । त्यसैले राजस्व संकलन र त्यसको सही परिचालनलाई भाषण र लिखित दस्तावेजमा मात्रै सीमित नगरी वर्तमान संकट मोचनका लागि पनि कार्यान्वयनमा ल्याउनुपर्छ । 

आयात होइन उत्पादन
केही वस्तुको आयात प्रतिबन्धले चालू आवको पाँच महिनासम्म आयात केही घटेको देखिन्छ । आयात २० प्रतिशतले घट्दा निर्यात भने ३५ प्रतिशतसम्मले घटेको छ । पाँच महिनामै व्यापार घाटा ५ खर्ब ९७ अर्ब नाघेको छ । यसको अर्थ वस्तु खरिदमा मंसिरसम्म नेपालले ६ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । अर्कोतिर, विदेशी मुद्रा सञ्चिति पनि सहज अवस्थामा छैन । नियन्त्रणका कारण सुधार देखिए पनि आयात खुला गर्ने हालैको नीतिले यसमा संकुचन आउने पक्का छ ।

निर्यातका सम्बन्धमा हामीले दशकौँदेखि अनेक नीति अवलम्बन गरे पनि ती सफल देखिँदैन । गत आवमा हामीले दुई खर्ब रुपैयाँको निर्यात गरे पनि सबैभन्दा धेरै हिस्सा ओगट्ने वस्तु नै नेपालमा उत्पादन भएका छैनन् । कच्चा पाम र भटमास ल्याएर त्यसमा भ्यालु एड गरी भारत निर्यात गरिएको छ । यस्तो प्रशोधित तेलको निर्यातमा करिब आधा हिस्सा छ । त्यसमा पनि भारतले भन्सार शुल्क शून्य गरेपछि यी वस्तुको निर्यात ह्वात्तै घटेको छ । भारतको एउटा नीतिमा हुने हेरफेरले हाम्रो निर्यातको अंक एकैपटक तल झरेको देखिन्छ । अन्तर्राष्ट्रिय व्यापारको यति लामो इतिहासपछि निर्यात हाम्रो सामथ्र्य होइन भनेर बुझ्नुपर्छ । त्यसैले हाम्रो अन्तर्राष्ट्रिय व्यापार नीति आयात प्रतिस्थापनमा केन्द्रित भई मुलुकको उत्पादन क्षमता बढाउनेतिर हुनुपर्छ । 

मुलुकमा औद्योगिक वातावरण खस्कँदो छ । रोजगारी सिर्जना, लगानी आकर्षण, पुँजी सिर्जना गर्ने औद्योगिक क्षेत्रको अर्थतन्त्रमा योगदान औसतमा पाँच प्रतिशतमा सीमित छ । औद्योगिक क्षेत्र खुम्च्याएर कुनै पनि मुलुकले अर्थतन्त्रमा सफलता प्राप्त गर्दैन । कोभिडताका माल्दिभ्सले भोगेको आर्थिक संकट यसकै एउटा उदाहरण हो । त्यसैले उत्पादनमा आधारित अर्थतन्त्र नै सबैभन्दा बलियो अर्थतन्त्र हुने भएकाले औद्योगिक क्षेत्रको विस्तारमा नयाँ सरकारको ठोस पहल आवश्यक छ ।

उत्पादन बढाउने सन्दर्भमा कृषि र ऊर्जा पनि उत्तिकै महत्वपूर्ण क्षेत्र हुन् । यिनको विकासमा पनि महत्वपूर्ण सुधार जरुरी देखिन्छ । उद्योग सञ्चालनार्थ दर्ता प्रक्रिया र जग्गाप्राप्ति सरल, कच्चा पदार्थ र तयारी वस्तुको आयातमा दुई तहको भन्सार दर, दक्ष जनशक्तिको पूर्ति र उत्पादित सामग्री बजार पुर्याउन पूर्वाधार निर्माण महत्वपूर्ण हुन्छ ।

कैलालीमा उत्पादित वस्तु जुनसुकै हिमाली जिल्लामा पुर्याउन सकिने गरी सडक र ढुवानी पूर्वाधार निर्माण योजनामा अघि बढ्नुपर्छ । कृषिमा निर्भर अर्थतन्त्र भनिए पनि राज्यबाट विशेष सुविधा किसानले अहिलेसम्म पाएको देखिँदैन । हरेक वर्ष मलको उस्तै समस्या सुन्नुपर्छ । किसानलाई मल आवश्यक पर्छ भन्ने जान्दाजान्दै योजना बनाएर समयमै मल ल्याउन किन समस्या ? समयमै मल उपलब्ध नगराउने व्यक्तिलाई कारबाही किन नगर्ने ? 

ऊर्जा क्षेत्र तुलनात्मक रूपमा राज्यबाट नीतिगत सहयोग पाएको क्षेत्र हो । पछिल्लो समय बिजुली निर्यात गरेर ११ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेकाले भविष्यमा सबैभन्दा धेरै निर्यात हुने क्षेत्र बन्दै छ, यो । यी सकारात्मक प्रगतिलाई थप विस्तार गर्ने गरी कूटनीतिक क्षमताको थप उपयोगमार्फत भारतबाहेकका बजारमा जानुपर्छ । साथै, भविष्यमा जलविद्युत् उत्पादन बढी हुँदा त्यसको उपयोग मुलुकभित्रै हुने अवसर पहिचान र त्यसको पूर्वाधारमा लगानी बढाउनेतर्फ सरकारका अबका योजना केन्द्रित हुनुपर्छ । 

मुलुकले अहिले भोगिरहेको आर्थिक संकट सरकार एक्लैले समाधान गर्न सक्दैन । न त नियामकीय संरचनाको नियन्त्रणमुखी नीतिले नै सक्छ । अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ मानिने निजी क्षेत्रलाई तर्साउने गरी सरकारले नीति निर्माण गरेमा अर्थतन्त्र झन् भासिँदै जान्छ । त्यसैले अर्थतन्त्रमा देखिएका संरचनात्मक समस्यालाई योजनाबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धतासहित हालको वित्तीय संकटलाई तत्काल निरूपण गर्न निजी क्षेत्रको मागलाई गम्भीर भएर सम्बोधन गर्ने हो भने अर्थतन्त्रले छिटै लय समात्ने निश्चित छ । 
 

सुझावित समाचार