उत्सर्जनको वर्तमान प्रवृत्ति जारी रहे पृथ्वीमा हाल अस्तित्वमा रहेका वनस्पति तथा प्राणीका प्रजातिमध्ये १० मा एक प्रजाति यो शताब्दीको अन्त्यसम्ममा लोप हुन सक्ने एक अध्ययनले देखाएको छ ।साइन्स एड्भान्स जर्नलमा प्रकाशित अध्ययनले तापक्रममा वृद्धिले पृथ्वीको जीवनको जालोलाई टुटाउने तर्क गर्दै जलवायु संकटको वर्तमान प्रवृत्ति जारी रह्यो भने त्यसको परिणाम भयावह हुन सक्ने चिन्ताजनक तस्बिर चित्रण गरेको छ । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)ले अनुगमन गरेका एक लाख ५० हजार तीन सय ८८ प्रजातिमध्ये ४२ हजारभन्दा बढी बोटबिरुवा तथा जीवजन्तु प्रजाति जलवायुका कारण लोप हुन सक्ने पाएको हो । प्रजाति विलोपनको दोष मानवीय व्यवहारलाई दिइएको छ ।
उत्सर्जन मापदण्डमा कुनै परिवर्तन नआए सन् २०५० सम्ममा ६ प्रतिशत वनस्पति तथा प्राणी लोप हुने र शताब्दीको अन्त्यसम्ममा यो संख्या १३ प्रतिशत पुग्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् । उनीहरूका अनुसार खराब परिदृश्यमा सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति तथा जीवजन्तु लोप हुन सक्छन् । ‘जलवायुको असर वास्तविक जगत्मा के हुन सक्छ भन्ने कुराको आकलन गर्न हामीले भर्चुअल परिवेश निर्माण गरेर विश्वभरका हजारौँ प्रजातिको नियति आकलन गर्ने प्रयास गरेका छौँ,’ सह–अनुसन्धाता तथा युनिभर्सिटी अफ हेलसिन्कीका वैज्ञानिक डा. जियोभानीले भने ।
उत्सर्जन मापदण्डमा कुनै परिवर्तन नआए सन् २०५० सम्ममा ६ प्रतिशत वनस्पति तथा प्राणी लोप हुने र शताब्दीको अन्त्यसम्ममा यो संख्या १३ प्रतिशत पुग्न सक्ने अनुसन्धानकर्ताको अनुमान
‘यो अध्ययन अद्वितीय छ किनभने यसले जैविक विविधतामा पर्ने द्वितीयक असरबारे पनि अध्ययन गरेको छ । प्रत्यक्ष असरबाहेक स्थानीय आहार प्रणालीमा पर्ने असरका कारण प्रजातिहरूको विलोपनमा कस्तो प्रभाव पर्छ भनेर हेरेको छ । आहार (खाना)को सञ्जालमा परेको असरको अन्तरसम्बन्धले जैविक विविधताको क्षतिलाई थप खराब गर्ने यो अध्ययनले देखाएको छ,’ अध्ययनका सह–लेखक तथा अस्ट्रेलियाको फ्लिन्डर युनिभर्सिटीका प्राध्यापक कोरी ब्राडसले भने ।
यसैबीच, क्यानडाले विकासोन्मुख देशहरूमा आफ्नो अन्तर्राष्ट्रिय जैविक विविधताको लगानीलाई बढाउने उद्घोष गरेको छ । ‘प्रकृतिसँग शान्ति सम्झौता’मा हस्ताक्षर गर्ने लक्ष्यसहितको कोप–१५ बारे बहस गर्माएको समयमा नै क्यानडाले यो घोषणा गरेको हो । क्यानडा सरकारले कम आय भएका देशहरूलाई जैविक विविधता जोगाउन दिइने कोषमा २५ करोड ५० लाख क्यानेडियन डलर (१८६ मिलियन डलर) वृद्धि गर्ने वाचा गरेको वातावरणमन्त्री स्टिभन गिलबल्टले बताएका छन् ।