बेनी नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलबार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, पाँच रजत र नाै कांस्य पदकसहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टस् विधाका ४८ वटा पदकमा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा १० स्वर्ण, १० रजत र नाै कांस्य पदक हात पार्दै माउन्ट एभरेस्ट आवासीय मावि द्वितीय र आठ स्वर्ण, १४ रजत र आठ कांस्य पदक प्राप्त गर्दै न्यु वेस्ट प्वाइन्ट आवासीय मावि तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई क्रमश: रु. ५१ हजार, ४० हजार र ३० हजार पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खमवीर), बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछानेलगायतले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।