यो वर्ष एकतिहाइ विश्व मन्दीमा रहने

अमेरिका, युरोप र चीनमा मन्दी छाउँदा यो वर्ष सन् २०२२ भन्दा कठिन हुन सक्ने

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यो वर्ष विश्वको एकतिहाइ अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी दिएको छ । सन् २०२३ मा अमेरिका, युरोप र चीनजस्ता ठूला अर्थतन्त्र मन्दीमा रहने भन्दै यो वर्ष विश्व अर्थतन्त्रका लागि अघिल्लो वर्षभन्दा पनि कठिन हुने आइएमएफ प्रमुख क्रिस्टालिना जियोर्जिभाले चेतावनी दिएकी हुन् । 

युक्रेनमा जारी युद्ध, बढ्दो मूल्य, उच्च ब्याजदर र चीनमा कोभिड–१९ संक्रमणको उच्च प्रसारले विश्व अर्थतन्त्रमा असर परिरहेकै समयमा उनको यो चेतावनी आएको छ । ‘किन ? किनभने विश्वका तीन ठूला अर्थतन्त्र अमेरिका, युरोप र चीन क्रमैसँग मन्दीमा धकेलिँदै गएका छन्,’ सिबिएस न्युजको फेस द नेसन कार्यक्रममा आइएमएफ प्रमुख जियोर्जिभाले भनिन्, ‘हामीले यो वर्ष कम्तीमा विश्व अर्थतन्त्रको एकतिहाइ मन्दीमा रहने आकलन गरेका छौँ । अहिले मन्दीमा नरहेका मुलुकका करोडौँ मानिसले समेत मन्दीकै जस्तो कठिनाइ महसुस गर्नेछन् ।’

क्रिस्टालिना जियोर्जिभा 
प्रबन्ध निर्देशक, आइएमएफ

हामीले यो वर्ष कम्तीमा विश्व अर्थतन्त्रको एकतिहाइ मन्दीमा रहने आकलन गरेका छौँ । अहिले मन्दीमा नरहेका मुलुकका करोडौँ मानिसले समेत मन्दीकै जस्तो कठिनाइ महसुस गर्नेछन् । 

युक्रेन युद्ध, मूल्यवृद्धि, उच्च ब्याजदरलगायतलाई मध्यनजर गर्दै आइएमफले सन् २०२३ को विश्व आर्थिक वृद्धि परिदृश्यको प्रक्षेपणलाई अक्टोबरमा संशोधन गर्दै घटाएको थियो । जियोर्जिभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको ४० वर्षको इतिहासमा वृद्धिदर पहिलोपटक विश्वव्यापी आर्थिक वृद्धिको औसत दर वा त्यसभन्दा पनि कम रहने बताएकी छिन् । ‘४० वर्षमा पहिलोपटक सन् २०२२ को चीनको आर्थिक वृद्धि विश्वव्यापी औसत वा त्यसभन्दा तल रहने देखिन्छ,’ उनले भनिन् । 

सिड्नीस्थित मुडिज एनालाइटिक्सकी अर्थशास्त्री क्याट्रिना इआइआई बिबिसीसँग विश्व अर्थतन्त्रबारे आफ्नो विश्लेषण पस्किन्छिन्, ‘यो वर्ष हाम्रो बेस–लाइनले विश्वव्यापी मन्दी नै त देखाउँदैन तर सम्भावना अत्यन्तै उच्च छ । यो वर्ष युरोप मन्दीबाट उम्किनेछैन भने अमेरिका मन्दीको डिलमा रहनेछ ।’

जियोर्जिभा सन् २०२३ को सुरुवात चीनका लागि निकै कठिन हुन सक्ने चेतावनी दिन्छिन् । ‘आगामी केही महिना चीनका लागि कठिन हुन सक्छ । त्यसको असर चीन, यो क्षेत्र र विश्वव्यापी वृद्धिकै लागि सुखद हुनेछैन,’ उनको भनाइ छ । जियोर्जिभाको टिप्पणी सन् २०२२ मा कठिनाइ सहेका एसियाली मुलुकका लागि चेतावनीयुक्त छ । युक्रेन युद्धका कारण यो क्षेत्रमा मूल्यवृद्धि र स्फीतिमा भारी बढोत्तरी भएको छ भने उच्च ब्याजदरले परिवार तथा व्यवसाय मारमा परेका छन् । 

सुझावित समाचार