भारतीय नम्बर प्लेटको गाडीमा आएको एक समूहले धारिलो हतियार प्रहार गर्दा नेपालगन्जमा तीन युवा घाइते भएका छन्। अज्ञात समूहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिकाका तीनजना घाइते भएका प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा नेपालगन्ज वडा नम्बर १२ का उज्ज्वल शाह, वडा नम्बर ४ का सुगम शाह र वडा नम्बर ४ कै अनुराग शाह रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले बताए।
नेपालगन्ज– ४ गणेशपुरस्थित आफन्तको घरमा गएका वेला अज्ञात समूहले दिउँसो सवा २ बजेतिर आक्रमण गरेको उनले बताए। घाइते तीनैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
आक्रमण गर्ने समूहको खोजी भइरहेको र आक्रमण गर्नुको कारणबारे अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए। भारतीय नम्बर प्लेटको गाडीमा ६ जनाको समूहमा आएका आक्रमणकारी गाडी छाडेर भागेको प्रहरीले जनाएको छ।