भोटखोलामा निर्माण गरिने जलविद्युत् आयोजनालाई अनिवार्य ‘एफपिक’ गर्न आग्रह

शनिबार, १६ पुष, २०७९
डिजिटल संस्करण

संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा निर्माण गरिने जलविद्युत् आयोजनाले अनिवार्य रूपमा स्वतन्त्र, अग्रिम जानकारीसहितको मन्जुरी (एफपिक) गरेर मात्रै आयोजना अघि बढाउन नेपाल आदिवासी जनजाति महासंघ र सामुदायिक वन महासंघले आग्रह गरेको छ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संखुवासभाका अध्यक्ष विपीन तामाङ र सामुदायिक वन महासंघ (फेकोफन) संखुवासभाका अध्यक्ष लक्ष्मी चापागाई‌ं संयुक्त हस्ताक्षारित विज्ञप्ति जारी गरेका छन्। 

पछिल्लो समयमा भोटखोलाका खोलामा निजी कम्पनीहरूले जलविद्युत् आयोजनाहरू निर्माण गर्ने क्रम बढेको तर स्थानीय आदिवासी जनजाति समुदायहरूलाई कुनै जानकारी नदिने र त्यहाँका प्राकृतिक स्रोतसाधान प्रयोग हुँदा स्थानीय समुदायलाई जानकारी नहुनु गलत भएको भन्दै जनजाति महासंघ र सामुदायिक वन महासंघले चासो देखाएको हो।

उनीहरूले भोटखोला गाउँपालिका–२ स्थित छुजुङ खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाले एफपिक लागू गर्नुपर्ने माग गरेका छन्।

त्यसैगरी, भोटखोलामा निर्माणको चरणमा रहेका ठूला आयोजना किमाथांका अरुण, माथिल्लो अरुण, अरुण चौथोलगायतका जलविद्युत् आयोजना सञ्चालन गर्दा त्यहाँका आदिवासी जनजाति समुदायहरूको हकअधिकार सुनिश्चित गरेर मात्रै अगाडि बढाउन अनुरोध गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘भोटखोला गाउँपालिका–२ मा परापूर्वकालदेखि अवस्थित रहेका भोटे, सिङ्सालगायतका आदिवासी जनजाति तथा स्थानीय समुदायको ऐतिहासिक, भाषिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक धरोहर छुजुङ खोलामा निर्माण हुन लागेको निजी कम्पनी सांग्रिला ऊर्जा प्रालिले एफपिक गरेर मात्रै आयोजना अगाडि बढाइनुपर्दछ। मञ्जुरी नलिईकन काम गर्न नहुने राष्ट्रिय तथा अन्तराष्ट्र्रिय कानुन आइएलो १६९ र अनड्रिप २००७ ले दिएको हकअधिकारको ठाडो उल्लङघन भएको हुँदा गम्भीर ध्यानाकर्षण भएकाले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदछौँ।’

जिल्लाको भोटखोला गाउँपालिका–२ मा निर्माण हुने १०६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनामा एफपिक लागू भइसकेकाले अन्य आयोजनाहरूले पनि लागू गर्नुपर्ने नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संखुवासभाका अध्यक्ष विपिन तामाङले बताए।

संखुवासभा जलविद्युत् हबको रूपमा विकास गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन्। अरुण नदीबाट मात्रै करिब ५ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएकाे छ। संखुवासभामा नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। त्यसैगरी, नेपाल सरकारले निर्माण गर्ने विश्व बैंकको लगानी रहेको १०६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनाको कामसमेत अगाडि बढिसकेको छ। संखुवासभामा निजी जलद्यिुत् कम्पनीबाट २२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

सुझावित समाचार